May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

रमजान र मधुमेह: रोजा बस्दा के गर्ने, के नगर्ने ?

– डा.अनिल यादव

मुसलमानहरुका लागि वर्षको सबै भन्दा पवित्र महिना रमजान नेपालमा अप्रिल देखी सुरु भएकाे छ। रमजानको पालना इस्लामको ५ वटा स्तम्भमध्ये एक हो र विश्वभरका मुस्लिमहरु पुरा महिना व्रत (रोजा) बस्छन्। कुरानमा वर्णन गरे अनुसार रमजानको पवित्र महिनाको अवधिमा ज्यान जोखिम बनाउन सक्ने दिर्घरोगहरु जस्तैः मधुमेह भएका केहि व्यक्तिहरुवाहेक सबै स्वस्थ्य वयस्क मुस्लिमहरु रोजा बस्नु अनिवार्य हुन्छ। यस अवधिमा दिर्घरोगीहरु जस्तैः मधुमेहलगायत केहि व्यक्तिहरुलाई रोजा बस्न छुट दिइएको भएता पनि धेरै मुस्लिम मधुमेह रोगीहरु पनि रोजा बस्ने गर्छन् (Surah Al Baqarah Verse १८४-१८५)।

Advertisement

रमजानको महिनामा जिवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण व्रत (रोजा)ले शरीरमा हुने मेटाबोलिजम(metabolism) मा पनि गडबडि ल्याउछ। त्यसैगरी मधुमेह बिरामीमा हृदय,मृगौला र अन्य जटिलता हुँदा मधुमेह रोगीहरुमा रोजा बस्दा जोखिम बढेर जान्छ। त्यसैले सुरक्षित रोजा सुनिश्चित गर्नको लागि मधुमेहका बिरामीहरुले रोजा बस्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ। 
विश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। जनगणना २०११ अनुसार नेपालमा १० लाख मुस्लिमहरु छन् तर मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्याङ्क छैन। 

रोजा राख्दा हुने शारीरिक लाभहरु
•    शरीरको वजन कम हुन्छ
•    ग्लुकोज (HbA1C) को नियन्त्रण हुन्छ
•    बोसोको मात्रामा सुधार हुन्छ
•    रक्तचाप नियन्त्रण हुन्छ
•    प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ
•    शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कन्छ

रमजान को समयमा मधुमेहका बिरामीहरुमा हुने जोखिमहरु
•    रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु (Hypoglycemia)
•    रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु (Hyperglycemia)
•    शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (जलवियोजन हुनु)
•    टाइप १ मधुमेह बिरामीहरुको रगतमा एसिड (Ketone body) जम्मा हुनु

जोखिम कम गर्न के गर्नुपर्छ?
•   रोजा बस्ने निर्णय गर्नु भन्दा ६-८ हप्ता अगाडी चिकित्सक र धार्मिक सल्लाहका अधारमा जोखिमको मुल्यांकन गर्नपर्छ।
•  अन्तराष्ट्रिय मधुमेह महासंघ (IDF) र ‘मधुमेह र रमजान (DAR)’ अन्तराष्ट्रिय गठबन्धन (IDF-DAR) २०१६ मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेहका बिरामीहरुलाई ३ जोखिम समूहमा वर्गिकृत गरिएको छ। यसलाई इजिप्टको मोफ्टिले अनुमोदन गरेको छ।
•  धेरै उच्च जोखिम:- मधुमेहका बिरामीले रोजा बस्नै मिल्दैन।
•  उच्च जोखिम:- मधुमेहका बिरामीले रोजा राख्नु हुदैन।
•  मध्यम/कम जोखिम:- मधुमेहका बिरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ।

मधुमेहका बिरामी र पारिवारका सदस्यहरुले निम्न कुराको  जानकारी राख्नुपर्छः
•  स्वस्थ्य पोषण
•  नियमित व्यायाम
•  औषधि र मात्राको समायोजन
•  नियमित ग्लुकोजको जाँच
•  रगतमा अत्यधिक कम ग्लुकोज (Hypoglycemia) हुदा देखिने लक्षणहरु
•  रोजा तोड्न मिल्ने अवस्थाहरु

रमजानको समयमा भोजनको योजना (Diet Planning)
•    शरीरलाई दैनिक आवश्यक पर्ने Calories लाई सेहरी र इफ्तार को बिचमा सहि मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ।
•    अत्यधिक फाइवरयुक्त खाना खानुपर्छ।
•    फलफूल, तरकारीहरु र सलादहरु खानुपर्छ।
•    सुर्यास्त र सुर्योदयको बिचमा तरल पदार्थ पिउनुपर्दछ।
•    गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरल पदार्थको सेवन गर्नुहुदैन।

इफ्तार
•    तरल पदार्थहरू- नरिवल पानी / कागती पानी (चिनी नभएको), अमिलो फल को रस – १ गिलास
•    फलहरू – कुनै एक गुलियो फल (१-२ भाग)
•    मुरी / चिउरा  / नूडल्स- १ कप
•    प्याज- १ पिस
•    उमालेको छोला -१/२ कप, चप – १ पिस, कवाब- १-२ पिस
•    काक्रो, अमिलो फलको रस, नरिवल पानी – इच्छा अनुसार

बेलुकाको खाना
•    रोटी- २ / चामल १-१.५ कप (१२०-१८० ग्राम)
•    माछा / मासु / अण्डा – १ पिस
•    तरकारी, सलाद – ईच्छा अनुसार 
•    दाल- १ कप

सेहरी
•    चामल- २ कप (२५०-३०० ग्राम)
•    माछा / मासु- २ पिस
•    तरकारी, सलाद – ईच्छा अनुसार 
•    दाल- १ कप
•    दूध- १ कप

रमजानको समयमा व्यायाम 
• रोजाको समयमा कठोर व्यायाम नगर्नुहोस् किनभने यसले गर्दा रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमि हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्याधिक कम हुन सक्छ (जलवियोजन हुन सक्छ)।
• तारावीह प्रार्थनामा गरिने शारीरिक श्रमलाई दैनिक व्यायामको भागको रूपमा मान्न सकिन्छ।
• खाना खाएको १-२ घण्टापछि व्यायाम गर्न सकिन्छ।

रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन
• औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्।

रमजानको समयमा ध्यान दिनुपर्ने कुराहरु
• कुरानले स्पष्ट रूपमा भनेको छ कि यदि कुनै बिरामी छ भने ‘छुटेको रोजा (ब्रत) अर्को समयमा पुरा गर्नुपर्दछ’ किनकि ‘अल्लाह तपाईंको लागि सहजता चाहन्छन् र तपाईलाई कठिनाइमा राख्न चाहदैनन्’।

मधुमेहका बिरामीहरू ‍खानेकुरा तथा औषधिको समुचित प्रयोग बारे शिक्षित नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन् किनकि तिनीहरू एकल वा बहुऔषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन् जसले hypoglycemia वा hyperglycemia निम्त्याउन सक्छ।

मधुमेहका बिरामीहरूले कुनै पनि शारीरिक रोगमा रोजा (ब्रत)  तोड्नु पर्ने हुन सक्छ। यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ, जुन इजिप्टको सर्वोच्च धार्मिक नियामक प्राधिकरण तथा विश्व-प्रसिद्ध इस्लामिक शैक्षिक संगठन अल-अजहरको विद्वान हो।  प्रत्येक मधुमेहका बिरामी जसले रोजा राख्न चाहन्छ आफ्नो रगतमा ग्लूकोजको मात्राको अनिवार्य रुपमा स्वयं अनुगमन गर्नुपर्छ र यसरी रगतमा ग्लूकोजको परीक्षण गर्दा रोजा धार्मिक रुपमा अवैध हुदैन भनि जोड दिनु पर्छ।

रगतमा ग्लूकोजको मात्राको अनुगमन
•   इफ्तारको अघि
•   इफ्तार, रातीको खाना र सेहरीको २ घण्टा पछि 
•   मध्य दिन
•   यदि कम वा उच्च रगत ग्लूकोजको लक्षण छ भने वा अस्वस्थ महसुस गर्दै हुनुहुन्छ भने कुनै पनि समय।
रोजा तोड्न मिल्ने अवस्थाहरु
•  रगतमा ग्लूकोजको मात्रा 70 mg/dl (3.9 mmol/l) भएमा
•  रगतमा ग्लूकोजको मात्रा 300 mg/dl (16.7 mmol/l) भएमा
•  अस्वस्थ महसुस भएमा
• रगतमा ग्लूकोजको मात्रा अत्यधिक कमि (Hypoglycemia) हुँदाको लक्षणहरु देखिएमा (जस्तो पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढनु आदी)
•  अन्य समयहरु (जस्तो अत्यधिक पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु आदि)

के गर्दा  रोजा टुट्दैन? 
•  रगतबाट ग्लूकोज परीक्षण गर्दा
•  इन्सुलिन इन्जेक्सन लिदा

रमजान समाप्त भएपछि ध्यानदिनुपर्ने कुराहरु
• इद-उल-फितरको समयमा अत्यधिक-खानाहरू विशेषगरी मिठाइबाट बच्नुहोस्, किनकि यसले उच्च रक्त ग्लुकोज निम्त्याउन सक्छ।
•  औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्। 
•  रमजानको समयमा hypoglycemia वा hyperglycemia को घटनाहरू भएको थियो भने रमजानको अर्को वर्षको योजना बनाउदा विशेष सावधानी अपनाउनुहोस्।