May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वरमा परिवर्तन ? ‘ओमिक्रोन भ्वाइस’ पनि हुनसक्छ !


डा.शेरबहादुर पुन

हाल समुदायमा डेल्टा भेरियन्टको ठाउँ ओमिक्रोनले लिँदै गइरहेको केहि दिन अगाडि स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। पुस २३ गतेसम्म २२ प्रतिशतमा सिमित ओमिक्रोन (एस-जीन नेगेटिभ) झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा ८८ प्रतिशतमा पुगेको छ।

Advertisement

ओमिक्रोन संक्रमितहरुमध्ये धेरैले घाँटीमा समस्या हुने गरेको अनुभव सुनाउने गरेका छन्। विश्वमा नै ओमिक्रोन संक्रमितहरुमा मुख्यतय घाँटीमा समस्या हुने गरेको अनुसन्धान तथा चिकित्सकहरुको अनुभवहरुले पनि देखाउँदछ।ओमिक्रोन प्रभावित कतिपय देशका चिकित्सकहरुले ओमिक्रोन सुन्न सकिने समेत भन्ने गरेको पाइन्छ। अर्थात् अर्को शब्दमा भन्नु पर्दा, ओमिक्रोन संक्रमितको स्वरमा परिवर्तन भएको सुन्न सकिने भनेका हुन्।

Advertisement

यहाँ लेखकले ‘ओमिक्रोन भ्वाइस’ भन्नाले ओमिक्रोन संक्रमण भएपछि स्वरमा देखिने परिवर्तनलाई भन्न खोजेको हो। हाल धेरै संक्रमितहरुले घाँटी दुख्ने वा घाँटीमा केहि डल्लो चिज अड्केको जस्तो अनुभव गर्ने वा घाँटीमा असहज हुने र स्वर दबेको/धसेको वा परिवर्तन हुने अनुभव गरेका पाइन्छ।

हाल ओमिक्रोन लगभग घर-घरमा पुगेको र अधिकांश परिवारका धेरै सदस्यहरुमा (कसै-कसैका परिवारका पुरै सदस्यहरु) उस्तै-उस्तै लक्षणहरु देखा पर्ने गरेको पाइन्छ। तर सबै जनाले विभिन्न कारणहरुले गर्दा परीक्षण भने गर्ने गरेको पाइँदैन। र, सबैमा ओमिक्रोनका लक्षणहरु विकास हुन्छ नै भन्ने पनि छैन। तसर्थ यदी परिवार वा सहकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको र विभिन्न कारणले परीक्षण नगरेका/गर्न नचाहेकाहरुमा स्वरमा परिवर्तन देखिए त्यो ‘ओमिक्रोन भ्वाइस’ वा ओमिक्रोन संक्रमित स्वर पनि हुनसक्नेछ। त्यसमा थप टाउको तथा शरीरका मांशपेशी दुख्ने, नाकबाट पानी आउने/बन्द हुने, हल्का शरीर तातिएको महसुस हुने र थकान महसुस हुने जस्ता लक्षणहरु पनि देखिने गर्दछ। तर यस्ता लक्षणहरु देखिएकाहरुमा फ्लूको परीक्षण गर्दा नतिजा भने नेगेटिभ आउने गरेका छन्।

हाल परिचित दर्जनौ कोरोना पुष्टि भएकाहरुसंग फोनमा परामर्शको क्रममा कुराकानी गर्दा लेखकले प्रष्टै ‘ओमिक्रोन भ्वाइस’ सुन्ने गरेको छ। त्यस्तै, पहिले परिचय नभएका संक्रमण पुष्टि भएकाहरुले लेखकसंग परामर्शको क्रममा स्वर दबेको/धसिएको/भासिएको भन्ने अनुभव सुनाउने गरेका छन्। हुनत, स्वर परिवर्तन अरु संक्रामक रोगहरु जस्तै कमन कोल्ड/फ्लू वा नन-कोभिडमा (विशेषत घाँटीको समस्या भएकामा) पनि देखिने गर्दछ। तर हाल समुदायमा ओमिक्रोनले तिब्रता र व्यापकता पाइरहेको अवस्था र यसको असर पनि मुख्यतय घाँटीमा देखिने गरेकोले ‘ओमिक्रोन भ्वाइस’ हुनसक्ने भनिएको हो।

परीक्षण नगरिएको/गर्न नपाएको अवस्थामा कोरोना भएका जोकोहिसंग कन्ट्याक इतिहास छ र स्वरमा परिवर्तन देखिए वा ‘ओमिक्रोन भ्वाइस’ सुनिएमा तुरुन्त एकान्तबासमा बस्न सकिनेछ। यसबाट कोरोना भाइरस थप फैलनबाट रोक्न सहयोगी हुनेछ। यद्यपी भाइरसको निश्चित निदान भने पीसीआर प्रविधिबाट गर्न सकिनेछ।

-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)  Swasthayakhabar