March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बदलिँदो मौसममा हुने रोगबाट जोगिने ११ टिप्स

झरीपछि टन्टलापुर घाम अनि अब विस्तारै चिसो मौसम सुरु भइरहेको छ। यसरी मौसम परिर्वत हुने बेला रुघाखोकी, ज्वरो, ‘फंगल इन्फेक्सन’, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ। त्यसैले मौसम परिवर्तन हुने बेलामा स्वास्थ्यबारे बढी सचेत हुनुपर्छ।

Advertisement

–  मौसम बदलिने बेलामा र अझ झरी सकिए लगत्तैका दिनमा हेपाटाइटिस र टाइफाइड लाग्ने जोखिम बढी हुन्छ। यसबाट बच्न सडकमा बेच्नराखेका खानेकुरा र पेय पदार्थ भरिसक्के खानु हुँदैन। सकेसम्म घरमै खानपिन गर्नुपर्छ।

Advertisement

– मौसम परिवर्तन भइरहेको बेला उमालेको पानी खाने गर्नुपर्छ। जथाभावी पानी खानु हुँदैन। किनकि, बदलिँदो मौसममा पानीबाट रोग संक्रमण हुने जोखिम बढ्दा हुन्छ।

 –  झरी सकिएपछि पानीको दह ठाउँ–ठाउँमा जम्मा भएको हुन्छ, जहाँ  अनेक खालका किटाणु र ब्याक्टेरिया हुर्किने, बढ्ने गर्छन्। हिँड्दावर्दा यस्ता दहमा पाइने कीटाणु शरीरमा सर्ने हुँदा मौसम परिवर्तन भइरहेको अहिलेको अवस्थामा दिनहुँ नुहाउने गर्नुपर्छ। नुहाउँदा ‘एन्टिब्याक्टेरियल’ साबुन प्रयोग गर्नु लाभदायक हुन्छ।

–  विशेषगरी महिलाले नुहाइसकेपछि कपाललाई सुक्न दिनुपर्छ। चिसै कपाल बाटेर काममा हिँड्नुभयो भने यस्तो समयमा कपाल टुक्रने, झर्ने जोखिम बढी हुन्छ।

– अहिलेको बदलिँदो मौसममा संक्रमण हुनसक्ने अर्को रोग हो, हैजा। देशका कतिपय स्थानमा हैजा रोग फैलिएको समाचार केही समयअघिदेखि नै आइरहेका छन्। त्यही भएर बासी खाना भरिसक्के खानु हुँदैन। तातो खाना खाने र खाना, पानी आदिलाई छोपेर राख्ने गर्नुपर्छ।

– बाहिरबाट आएपछि अथवा केही काम गरेपछि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै, खाना खाइसकेपछि र खानुअघि पनि अनिवार्य रूपले साबुन पानीले हात धुने गर्नुपर्छ।

– ठाउँ–ठाउँमा जम्ने पानीका कारण लामखुट्टे लाग्ने भएकाले मलेरिया, डेंगूजस्ता रोग झरी लगत्तैको समयमा लाग्ने सम्भावना बढी हुन्छ। त्यही भएर लामखुट्टे लाग्ने ठाउँमा बस्नेले झुल हाल्न अल्छी गर्नु हुँदैन। अथवा, लामखुट्टे भगाउने क्वाइल, स्प्रे आदिसमेत प्रयोग गर्न सकिन्छ।

–    झरीलगत्तै मौसम बदलिँदा धेरैलाई रुघाखोकी लाग्ने गर्छ। किनकि, यस्तो बेलामा मानिसमा रोगप्रतिरोधी क्षमता कम हुने गर्छ। यस्तो मौसममा रुघाखोकीबाट बच्न घरबाट निस्किने बेलामा मास्क र टोपी अथवा स्कार्फ लगाउने बानी बसाल्नुपर्छ। शरीरको रोगप्रतिरोधी क्षमता बढाउन साग, फलफूल र सलाद सकेसम्म बढी खानुपर्छ।

–    मौसम बदलिरहेको अहिलेको समयमा पेट गडबड हुने, एसिडिटी बढ्ने, कब्जियत हुने आदि जोखिम पनि बढी हुन्छ। यस्तो जोखिम कम गर्न ताजा खाना खाने र प्रशस्त पानी पिउने गर्नुपर्छ। अहिलेको जस्तो बदलिँदो मौसममा केही घण्टाअघि काटेर राखेको फलफूल खानु हुँदैन। किनकि, यस्ता फलफूलमा जीवाणु संक्रमण भएको हुन सक्छ।

 –    काखी, खुट्टा, औँलाको काप, हिप आदिमा हावा सञ्चार नहुने अथवा कम हुने भएकाले यी ठाउँमा अहिलेको बदलिँदो मौसममा ‘फंगल इन्फेक्सन’ हुने जोखिम बढी हुन्छ। यसबाट बच्न शरीरलाई भरिसक्के चिसो राख्नु हुँदैन र नुहाएपछि शरीरलाई राम्रोसँग पुछ्ने गर्नुपर्छ। साथै, काखी, काछ आदिको सरसफाइमा अतिरिक्त ध्यान दिने र पेन्टी र रुमाल दिनहुँ धोएर मात्र प्रयोग गर्ने गर्नुपर्छ।

– अहिले कोरोना भाइरसको संक्रमण दरमा केही कमी आएको भए पनि जोखिम भने टरेको छैन। त्यसकारण जनस्वास्थ्यका मापदण्डहरु जस्तै भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात धुने गर्नुपर्छ।