डिमेन्सिया र अल्जाइमर्स के हो ? यस्ता छन् १३ लक्षण
डिमेन्सिया मस्तिष्कमा आउने परिवर्तनहरुका कारण हुने तथा क्रमश बढ्दै जाने एक दीर्घकालिन मानसिक स्वास्थ्य समस्या हो। अल्जाइमर्स भने डिमेन्सियाका लक्षणहरु विस्तारै धेरै बर्षहरुमा बिग्रिएर हुने रोग हो।
यसको प्रारम्भिक चरणहरुमा व्यक्तिको स्मरण शक्तिमा विस्तारै ह्रास आँउछ भने समयसंगै व्यक्तिहरु कुराकानी गर्न र प्रतिक्रिया दिन पनि असमर्थ हुन्छन्। यो जुनसुकै उमेरमा हुन सक्ने भए तापनि बृद्धबृद्धाहरुमा बढी देखिन्छ।
लक्षणहरु :
डिमेन्सिया तथा अल्जाइमर्स विश्वभर नै बृद्धबृद्धामा अपांगता र परनिर्भरता गराउने प्रमुख कारणमध्ये एक हो। यसले स्याहारकर्ताहरु, परिवारहरु तथा समाजलाई शारीरिक, मनोबैज्ञानिक तथा आर्थिक रुपमा ठूलो प्रभाव पार्दछ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ५ करोड मानिसहरुलाई डिमेन्सिया छ। २०१५ मा गरिएको एक अध्ययन अनुसार नेपालमा पनि ७८ हजार अल्जाइमर्सका विरामीहरु रहेका थिए। जुन प्रत्येक २० बर्षमा दोब्बर हुने अनुमान गरिएको छ।
यी रोगका लक्षणहरु निम्न अनुसार रहेका छन् :
– तर्क गर्ने क्षमतामा कमी आउने तथा सामान्य समस्याहरु पनि समाधान गर्न नसक्ने हुनु।
– मिति समय तथा स्थानका सम्वन्धमा ज्ञान हराउँदै जानु।
– आँखाले देखेका कुराहरु नचिन्नु तथा नजिक टाढाको दुरी अथवा सम्वन्ध छुट्टाउन नसक्नु।
– कुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शव्द नभेटिनु।
– सामानहरु अलपत्र पारी चाहिएकोबेलामा भेटाउन नसक्नु।
– स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु।
– घरायसी तथा व्यवसायिक क्रियाकलापबाट विमुख हुनु।
– बारम्बार एउटै कुराहरु सोधिरहनु।
– आफ्नो दैनिक कार्यसम्पादन गर्न कठिनाई हुनु।
– अरु व्यक्तिसंग कुराकानी गर्न र बुझ्न पनि समस्या हुनु।
– समस्याहरु हराउनु र राखेको ठाँउ बिर्सनु।
– निर्णय लिने क्षमतामा कमी हुँदै जानु र निर्णय लिन कठिनाई महसुस गर्नु।
– आफ्नो दैनिक र सामाजिक क्रियाकलापबाट पनि हट्नु वा चासो राख्न छोड्नु।
डिमेन्सिया तथा अल्जाइमर्स भएका व्यक्तिहरुलाई परिवार तथा अरुले कसरी सहयोग गर्न सकिन्छ?
डिमेन्सिया तथा अल्जाइमर्सलाई निर्मूल गर्ने उपचार प्रणाली नभएता पनि व्यक्ति तथा परिवारको सहयोगले यसको सहज व्यवस्थापन गर्न सकिन्छ।
– रोग यसका कारणहरु र व्यवस्थापनका उपायहरुको बारेमा जानकारी लिनुहोस्।
– डिमेन्सिया भएका व्यक्तिहरुको कुरालाई ध्यानपूर्वक तथा धैर्यतापूर्वक सुन्नुहोस।
– दैनिक गरिने कामकाज तथा सामुदायिक जीवनका क्रियाकलापमा सहभागिता बढाउन सहयोग गर्नुहोस्। यसका लागि उपलव्ध सामाजिक स्रोतसाधनहरुसंग समन्वय गरी सहयोग गर्नुहोस।
– आत्मनिर्भरता बढाउनका लागि आवश्यक सीपहरु सिकाउनुहोस्।
– लड्ने तथा चोटपटक लाग्ने जोखिम न्यूनिकरण गर्नका लागि घरको बातावरण सुरक्षित बनाउनुहोस्।
– नियमित रुपमा सचेत गराउने तथा स्मरण जागृत गराउने खालका अभ्यास गराउनुहोस।
– अन्तमा आफ्ना प्रियजनहरुको हेरचाह गर्ने क्रममा कठिनाई वा तनाव महसुस गरेको खण्डमा सहयोगको खोजी गर्नुहोस्।
प्रतिकृया दिनुहोस्