September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुराहरु

  • सरिता भुर्तेल

महिलाहरु किशोरवास्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनीबाट रगत बग्छ। यस्तो रगत २ देखि ७ दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ। महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो। यसलाई रजस्वला, पर सर्नु, नछुने हुनु आदि पनि भनिन्छ। महिनावरी चक्र व्यक्तिअनुसार २१ देखि ३५ दिनको हुने गर्छ। डिम्बासयको डिम्ब (अण्डा) परिपक्व भएपछि केटीहरुको पहिलो महिनावारी हुन्छ। महिनावारी सामन्यतया ८ देखि १९ वर्षको उमेरमा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्म हुन्छ। 

महिनावारी सुरु भएपछि एक प्रकारको सेतो पानी योनीबाट बग्न सक्छ। यो समान्य हो तर यो गन्हाउने वा योनी वरिपरि चिलाउने वा पोल्ने भयो भने यसको उपचार गर्नुपर्छ। महिनावरी हुँदा यौनांगको सरसफाइ राम्रोसँग भएन भने यस्तो समस्या हुने गर्दछ। महिनावरी प्राकृतिक र स्वाभाविक प्रक्रिया हो र स्वस्थ्य अवस्थाको पनि चिन्ह हो तर यसको बारेमा सही जानकारी नहुँदा पहिलो पटक महिनावारी हुँदा  धेरै किशोरीहरु आत्तिने गर्छन् र केहीले रोग लाग्यो भनेर सोच्छन्। तसर्थ घरमा भएका अभिभावकहरुले यसबारे जानकारी दिनुपर्छ।  

महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुराहरु 
•    महिनावारी हुँदा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। सरसफाइमा ध्यान दिइएन भने गन्हाउने सेतो पानी बग्ने, योनी चिलाउने, पिसाब पोल्ने तथा संक्रमण हुन सक्छ। सफाइको कमीले यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ। यौनांग सफा पानीले धुनुपर्छ। रगत लागेको छ भने मनतातो पानीले धुनुपर्छ। यो बेलामा पानीमा फिट्किरी हालेर पनि यौनांग सफा गर्न सकिन्छ। नुहाएर सफा बन्नुपर्छ।
•    महिनावारी भएको बेला शरीरबाट रगत बग्छ। शरीर कमजोर महशुस हुन्छ। शरीरलाई बलियो बनाउन पौष्टिक खाना, सागसब्जी, तरकारी, फलफूल दूध, दही, गेडागुडी, प्रशस्त मात्रामा खानुपर्छ। टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको प्रयोगले शरीर स्वस्थ्य बनाउँछ ।यसले रक्त अल्पताबाट पनि बचाउँछ। 
•    महिनावारी हुँदा नरम सुतीको कपडाको टुक्रा वा स्यानेटेरी प्याड प्रयोग गरेर सजिलै र सफासँग व्यवस्थापन गर्न सकिन्छ। त्यसबाहेक अहिले मेन्सट्रुयल कप र टेम्पोन पनि बजारमा पाइन्छन्। महिनावारी हँदा कसैकसैलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने, हात खुट्टा करकर खाने, कसैलाई बेचैन, तनाव हुने, टाउको दुख्ने पनि हुन्छ।
•    सामान्य अवस्थामा ४ देखि ७ दिनसम्म रगत बग्नु समान्य हो तर कसैलाई १० देखि १५ दिनसम्म रगत बगिरहने भयो भने उपचार गराउनु पर्छ। यदि हरेक २– २ घण्टामा प्याड फेर्नु पर्ने अवस्था आयो भने त्यसलाई धेरै रगत बगेको मानिन्छ। त्यस्तो भएमा के गर्ने त?
•    तल्लो पेटमा हलुका मालिस गर्ने ।
•    तातो पानी राखेको रबरको थैला वा बोतलमा पानी राखेर सेक्ने
•    दुध, दही, फलफूल, सागपात, गेडागुडीको झोल खाने।

के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छ? 
औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ। जानी राख्नुहोस् महिनावारी सम्बन्धी यस्ता पाँच तथ्यः

१. महिनावारीका बेला पनि गर्भ रहन सक्छः युगौं पुरानो भनाइ चटक्कै बिर्सिदिनुहोस् र याद राख्नुहोस् कि महिनावारीका बेला पनि तपाईं गर्भवती हुन सक्नुहुन्छ। यसका केही कारण छन्। पहिलो, महिनैपिच्छे डिम्बासयले डिम्बा निष्क्रमण गर्दा (ओभुलेसन हुँदा) केही महिलामा रगत आउँछ, यसलाई झुक्किएर महिलाले महिनावारी मान्न सक्छन्। डिम्ब निष्क्रमण हुँदाको समय महिलाको प्रजनन् क्षमता सर्वाधिक हुने हुँदा यसबेला गर्भवती हुने सम्भावना अत्यधिक हुन्छ। त्यसैले यस्तो बेला यौन सम्पर्क गर्दा गर्भ रहन सक्छ।

दोस्रो, कुनै महिलाको महिनावारी भइसकेपछि वा रगत आउन रोकिएको केही दिनपछि डिम्बा निष्क्रमण हुन सक्छ। महिलाको शरीरभित्र शुक्रकीट ३ दिनसम्म जीवित/सक्रिय हुने भएकाले महिनावारीका बेला गरिने यौन सम्पर्कबाट गर्भवती हुने सम्भावना रहन्छ।

२. पिल्स (गर्भ निरोधक चक्की) खाएका बेला हुने महिनावारी वास्तविक होइनः पिल्स खाएका बेला पनि महिलालाई रगत आउँछ, तर त्यो महिनावारी भने होइन। सामान्य अवस्थाको महिनावारीभन्दा पिल्स खाएका बेलाको महिनावारी फरक छ। किनभने ३ साता हर्मोनयुक्त पिल्स खाँदा त्यसले डिम्बासयबाट डिम्बा निष्क्रमण हुन दिँदैन तर महिलाको शरीरले डिम्बा निष्क्रमण नभए पनि त्यसको तयारी गरिरहेको हुन्छ। फलस्वरुप हर्मोनको लेभल शरीरमा घट्छ। चौथो साता हर्मोनबिनाको चक्की खाँदा गर्भाशयभित्र रक्तस्राव हुन्छ र त्यसलाई महिलाले महिनावारी भएको मान्छन्।

३. जीवनभर महिनावारी परिवर्तन भइरहन्छः जब तपाईंलाई अब म यतिबेला महिनावारी हुन्छु भनेर अनुमान गर्न सक्छु भन्ने लाग्छ, त्यतिबेलै फेरि सबै कुरा परिवर्तन हुन सक्छ। यसो हुनुको एकमात्र कारण महिलाको शरीरमा निरन्तर परिवर्तन भइरहने हर्मोनको मात्रा हो। र, तपाईंले हेक्का राख्नुपर्ने कुरा के हो भने तपाईंको जीवनभर नै हर्मोनको मात्रा परिवर्तन भइरहन्छ। कुनै महिलामा महिनावारी सुरु हुँदाका बेला महिनावारी चक्र लामो हुन सक्छ। अर्थात् दुई महिनावारीबीच लामो समयको फरक हुन सक्छ। सामान्यतया किशोरीहरूको दुई महिनावारीको फरक २१ देखि ४५ दिनसम्म हुन सक्छ।

तर, उमेर बढ्दै जाँदा फरक घट्दै गएर २१ दिनदेखि ३५ दिनसम्म हुन सक्छ। अझ ‘पेरिमेनोपज’ (महिनावारी सुक्ने ‘मेनोपज’ अघिका वर्षहरू) महिलामा हर्मोनको मात्रामा धेरै परिवर्तन हुन्छ। शरीरमा ‘एस्ट्रोजन’ हर्मोनको कमीले तपाईं चकित पर्न सक्नु हुन्छ। महिनावारी वर या पर सर्न सक्छ। त्यस्तै, दिन पनि अघि–पछि हुन सक्छ, रगत बढी वा थोरै जान सक्छ। मेनोपज हुनुअघि पेरिमेनोपजको समय १० वर्षसम्म पनि हुन सक्छ। यस्ता परिवर्तन बिस्तारै हुनु सामान्य हो। तर, एक्कासी अत्यधिक रक्तस्राव भएमा वा महिनावारी धेरै अघि–पछि भएमा (असामान्य रुपमा अनियमित) चिकित्सकसँग परामर्श गर्नुपर्छ।

४. ‘स्यानिटरी प्याड’ र ‘टेम्पन्स’ मात्र विकल्प होइनन्ः महिनावारीका बेला सफा रहन स्यानिटरी प्याड र टेम्पन्स मात्र विकल्प होइनन्। तपाईं अन्य विकल्प पनि प्रयोग गर्न सक्नुहुन्छ। बजारमा पाइने ‘मेन्स्ट्रुअल कप’ पनि यसको विकल्प हुन सक्छ। साथ, ‘पिरियड प्यान्टी’ र फेरि प्रयोग गर्न मिल्ने कपडाका प्याड (क्लोथ प्याड) पनि विकल्प हुन सक्छन्। यीमध्ये पुनः प्रयोग गर्न सकिने भएकाले किफायती र फोहोर पनि थोरै हुन्छ। कुनै–कुनैले लामो समयसम्म तपाईंलाई राहत दिन र सुरक्षित राख्न सक्छन्। यी सबैका फरक–फरक फाइदा र बेफाइदा छन्, त्यसैले आफूलाई उपयुक्त हुने विकल्प रोज्न सक्नुहुन्छ।

५. ‘पिएमएस’ अझै पनि रहस्यमयः महिनावारी सुरु हुनुभन्दा एक–दुई साताअघि कतिपय महिलामा अल्छीपन, सुन्निने/फुल्ने, छिनछिनमा मनोदशा फेरिने, यौनको उत्कट इच्छा जाग्ने जस्ता लक्षण देखिन सक्छन्। हरेक महिला अरुभन्दा फरक हुन्छिन्, तर पिएमएस (प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम) भने अधिकांश महिलाको जीवनमा तीतो यथार्थ हो।

पिएमएस अर्थात् महिनावारी पूर्व महिलामा देखिने लक्षणबारे चिकित्सकहरू पनि खासै केही बताउन सक्दैनन्। अहिलेसम्म यसबारे पर्याप्त अनुसन्धान भइसकेको छैन। सम्भवतः महिनावारीका बेला हर्मोनमा हुने परिवर्तन, मस्तिष्कमा हुने रासायनिक परिवर्तन र अन्य भावनात्मक परिवर्तन एकै पटक हुँदाको प्रभाव स्वरुप डिप्रेसन आउन सक्छ र यसले पिएमएस अनुभूतिलाई अझ खराब पार्न सक्छ। महिनावारी भएका बेलासमेत यी लक्षण रहिरहन सक्छन्। एउटा अध्ययनले महिनावारीका बेला मांसपेशी बाउँडिने, सुन्निने/फुल्ने, ढाडको दुखाइ, टाउको दुख्ने आदिले चिन्तन/सोचमा पनि असर पार्ने देखायो। किनभने दुखाइले काममा, सोचविचारमा एकाग्रता भंग गर्छ। सबै महिलालाई यस्तो अनुभव हुन्छ, तर केही गर्नै नसक्ने भने होइन, अलि बढी कष्ट गर्नुपर्ने हुन सक्छ।

पिएमएस सम्बन्धी कष्टबाट मुक्ति पाउने सर्वोत्तम उपाय भनेको जीवनशैली परिवर्तन गर्नु हो। यसका लागि नियमित आधा घन्टा व्यायाम गर्ने, राति ८ घन्टा सुत्ने, धूमपान नगर्ने, अल्कोहल सेवन नगर्ने र समयमा सन्तुलित भोजन गर्नुपर्छ। भोजनमा फलफूल, हरिया सागसब्जी र खाद्यान्नको मात्रा बढी र नुन, चिनी, क्याफिन र अल्कोहलको मात्रा भने सकेसम्म न्यून हुनु उत्तम हुन्छ। तपाईंको दैनिक जीवनयापनमा पिएमएसले असर पारे, डिप्रेसन वा एन्जाइटीका लक्षण देखिए चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ। यसभन्दा पनि गम्भीर अवस्था मानिने पिएमडिडी (प्रि–मेन्स्ट्रुअल डिस्फोरिक डिस्अर्डर) भए उपचार नै गर्नुपर्ने हुन्छ। swasthyakhabar