पौवाको १६ औं शाखा चितवनको भरतपुरमा


भैरहवा– होटल पौवाको १६ औँ शाखा चितवनको भरतपुरमा सञ्चालनमा आएको छ । उद्घाटनका अवसरमा होटलले बिहीबारदेखि तीन दिनसम्म खाना प्रदर्शनी आयोजना गर्ने जनाएको छ । उक्त अवसरमा ४० हजार सर्वसाधरणलाई ४५ थरीका परिकार चखाउने होटलले जनाएको छ ।
होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले उक्त फुड एक्जिविसनमा पौवाका देशभरका शाखाबाट आएका सेफले तयार गर्ने परिकार र खाद्यकला प्रदर्शन गरिने जनाए । पौवाका १६ होटलका सेफले हरेक दिन फरक–फरक परिकार तयार गर्ने उनले जनाए । प्रदर्शनीमा आउनेले निःशुल्क ४५ परिकार चाख्न पाउने उनले बताए ।
‘हामीले यस्ता प्रदर्शनीहरू अन्यत्रपनि गरेका छौँ,’ उनले भने, ‘त्यसैको अनुभवले चितवनमापनि वृहत् प्रदर्शनी राखेका हौँ । हामीले निमन्त्रणा गरेअनुरुप तीन दिनसम्म ४० हजार पाहुनाहरू आउने अपेक्षा छ ।’ प्रदर्शनीमा नेपाली परिकारकासाथै भारतीय र चाइनिज परिकार राख्ने उनले बताए ।
भरतपुर चौबिसकोठीदेखि दक्षिण–पश्चिम क्यान्सर अस्पताल जाने बाटोमा पौवा होटल छ । सो ठाउँमा सहकारी संस्थाका सदस्यहरूले मिलेर लगानी गरेको तारापुञ्ज होटल थियो । सोही होटल पौवाले लिएको हो । होटलले त्यहाँ निर्माण भएका संरचना खरिद गरेको जनाएको छ । जग्गा भने १५ वर्षका लागि र पछि १० वर्ष थप्न मिल्ने गरी भाडामा लिएको भण्डारीले बताए ।
पौवाले भरतपुरमा आठ करोड रुपैयाँ लगानी गरेको र थप तीन करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । हाल ६० जनाले रोजगारी पाइरहेको भरतपुरको पौवा होटल पूर्ण सञ्चालनमा आउँदा ८० जनाले प्रत्यक्ष रोजगार पाउने सञ्चालक ध्रुव न्यौपानेले बताए । २५ कट्ठा जग्गामा फैलिएको पौवामा १७ ओटा लक्जरी कोठा छन् । सुविधा सम्पन्न थप १२ कोठा निर्माणको चरणमा छन् । रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, बगैँचा, विवाह, व्रतबन्ध र कर्पोरेट कार्यक्रमका लागि दुई वटा ठूला हल, साना बैठक र पारिवारिक भेटघाटका लागि १० वटा हलको सुविधा पनि त्यहाँ छ ।








प्रतिकृया दिनुहोस्