June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

खानामा शङ्खेकिरा भेटिएपछि बर्दघाटको रोयल कटेज जरिवानामा

Advertisement

नवलपरासी–खानामा शङ्खेकिरा भेटिएपछि पश्चिम नवलपरासीको बर्दघाटस्थित एउटा होटल तथा रेस्टुरेन्ट कारवाहीमा परेको छ ।

Advertisement

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित रोयल कटेज होटल तथा रेस्टुरेन्ट जिल्ला अनुगमन समितिको कारवाहीमा परेको हो । अनुगमन समिति संयोजक पश्चिम नवलपासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खाना क्रममा खानामा शङ्खेकिरा भेटिएको थियो ।

अनुगमन समितिले उक्त होटललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बर्दघाट नगरपालिकाका वडाहरूलाई बालमैत्री घोषणा गर्ने कार्यक्रमका लागि अनुगमनमा निस्किएको टोली, अनुगमनकै क्रममा उक्त होटलमा खाना खान गएको थियो । खानामा शङ्खेकीरा भेटिएपछि टोलीले तत्कालै होटलको भान्सा तथा अन्य व्यवस्थापनको आकस्मिक अनुगमन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार अनुगमनका क्रममा होटलले खाद्य स्वच्छतासम्बन्धी न्यूनतम मापदण्डसमेत उल्लंघन गरेको र होटलमा प्रयोग गरिएका अन्य सामग्रीहरू समेत अस्वस्थकर पाइएको थियो ।

अनुगमनका क्रममा चरम लापरबाही र अस्वस्थकर वातावरण देखिएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम तत्कालै ५० हजार रुपैयाँ जरिवाना गरिएको भनाइ सहायक प्रमुख जिल्ला भण्डारीको छ । अनुगमन टोलीले जरिवाना भुक्तानी गराउनुका साथै आगामी दिनमा खाद्य स्वच्छता र सरसफाइमा सुधार गर्न भन्दै  गल्ती नदोहोर्याउन निर्देशन दिएको छ ।