August 24, 2026, Monday
२०८३ भाद्र ८ सोमबार

लगानी सम्मेलन र स्वाद उत्सवसहित सकियो होटल पौवाको दशौं वार्षिकोत्सव

Advertisement

भैरहवा–लगानी बढाउँदै आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्ने रणनीति बनाउँदै होटल पौवाले भैरहवामा ‘पौवा लगानी सम्मेलन २०८२’ शनिवार सम्पन्न भएको छ । स्थापनाको १० औं बार्षिकोत्सवको अवसरमा पारेर होटल पौवाले आफ्ना २ सय ५० भन्दा बढी लगानीकर्ताको सहभागितामा भैरहवा शाखामा ‘मिसन १००’ को अवधारणा अनुरुप लगानी सम्मेलन गरेको हो ।

Advertisement

पौवा समूहका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले लगानी सम्मेलनमा एक दशकसम्म प्राप्त अनुभव र सफलतालाई आधार मान्दै शताब्दी चुम्ने लगानीको बिस्तार गर्दै पौवाको नयाँ शाखा बिस्तारको गन्तब्यको खोजी गर्ने निर्णय भएको बताए । ‘पौवाका सवै शाखामा कार्यरत कर्मचारीको समेत लगानीमा सहभागीता हुनसक्ने बातावरण बनाउने वारे सम्मेलनले बिशेष जोड दिएको छ’ भण्डारीले भने ।

उनका अनुसार, पौवाका सवै शाखामा गरेर १ हजार भन्दा धेरै कर्मचारी कार्यरत छन् । ‘मिसन १००’ अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा कसरी लैजाने ? भन्ने बिषयमापनि सम्मेलन केन्द्रित थियो । दश बर्ष अघि रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका बिभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ ।

होटल पौवा भैरहवा शाखाका महाप्रबन्धक निशान्त खरेलले छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै पौवाले हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको जनाए ।

होटल पौवाले मुलुकभरी रहेका आफ्ना २० वटा शाखामा नेपाली रैथाने स्वाद र विशेष अतिथि सत्कारसहित चैत्र २६, २७ र २८ गते तीन दिनसम्म स्वाद उत्सव समेत सञ्चालन गरेको थियो । स्वाद उत्सवको पूर्वसन्ध्यामा चैत २५ गते होटलका सम्पूर्ण कर्मचारी सहित भैरहवामा र्याली सहित नगर परिक्रमा गरि रक्तदान पनि गरेको थियो । नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य अनुरुप पौवाले स्वाद उत्सव कार्यक्रम गरेको हो ।

दशौं वार्षिककोत्सवको समापन तथा सम्मान कार्यक्रममा पौवाले आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ । लामो समयदेखि संस्थामा समर्पित भएर काम गर्दै आएका कर्मचारीहरूले पौवालाई आफ्नै संस्थाको रूपमा मानेर सेवा प्रदान गरेकाले उनीहरूको योगदानको कदरस्वरूप पौवाले सम्मान गरेको हो । पौवाले विभिन्न विधामा उत्कृष्ट सेवा प्रदान गर्ने १७ वटा शाखाका २५ कर्मचारीलाई भैरहवामा सम्मान गरिएको जनाएको छ ।

होटल पौवाका कर्मचारी सुवास ज्ञवालीले आँफू २०७५ सालमा संस्थामा आबद्ध भएको र याहाँसम्म आइपुग्दा हरेक कामलाई आफ्नै जिम्मेवारी ठानेर अघि बढेको बताए । पौवा समूहका उपाध्यक्ष ध्रुव न्यौपानेले हालसम्म ६० हजारभन्दा बढी ग्राहकलाई सेवा दिन सफल भएको र उपभोक्ताबाट प्राप्त सुझाव र सल्लाहका आधारमा अझै सुधार गर्दै अघि बढ्ने बताए ।