April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

टुगा आस्था सहकारीको भैरहवामा सेवा केन्द्र सुरु

भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिका–१, कटैयामा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवामा सेवा केन्द्र विस्तार गरेको छ । स–साना पुँजी संकलन गरी आर्थिक विकासमा लागि रहेको सहकारीले मंगलबारदेखि भैरहवा सेवा केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो ।

Advertisement

सिद्धार्थनगर–८, भाइमार्केट (कुमारी बैंकको पछाडि) मा सुरु सेवा केन्द्रको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख खानले ससाना र निम्न वर्गीय सर्वसाधरणको पुँजी संकलन गर्ने सहकारीहरु कानूनको अधिनमा रहेर संचालन हुनुपर्ने बताए ।

Advertisement

उनले गलत गर्ने सहकारीलाई नगरपालिकाले कारबाही गर्ने बताउँदै नीति नियमको पालना गरेर सहकारी संचालन गर्न आग्रह गरे । टुगाको अहिलेसम्मको अवस्था राम्रो र प्रभावकारी भएको जनाउँदै उनले आगामी दिनमा पनि सोहीअनुसार अघि बढ्न आग्रह गरे । सर्वसाधारण र साना ब्यवसायीहरुले जम्मा गरेको बचतलाई कुनै पनि सहकारीले हिनामिना गर्न नदिने र गरिहाले कानूनी दायरामा ल्याउने उनको भनाइ छ । उनले राम्रो काम गर्ने सहकारीलाई नगरपालिकाले प्रोत्साहन गर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक एवं जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचन, जिल्ला बचत तथा सहकारी संघ, रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई, पूर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराई, सिद्धार्थनगर सहकारी शाखा प्रमखु कमलकान्त खनाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, शेयर सदस्य मनोरंजन शर्माले अहिले सहकारीका लागि विषम परिस्थिति आएकाले सावधानी अपनाउँदै लगानी गर्न अनुरोध गरे ।

ब्यवहारिक रुपमा गरिने कारोबार जस्तै सहकारीमा कारोबार गर्दा पनि आफूले राम्ररी चिनेको सहकारीमा मात्र गर्नु पर्ने उनीहरुको जोड छ । उनीहरुले केही ब्याजको लोभमा आफ्नो लगानी नगर्न अनुरोध गरे । विशेषगरि अरु जिल्लाबाट आएका सहकारीहरुलाई विश्वास गरि लगानी गरेकाहरुको लगानी फसेको उनीहरुले बताए । पहिलेको टुगा सहकारी, आस्थाश्री सहकारी र देउनारी विकास सहकारी मर्ज भएर टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था बनेको हो ।

सहकारीमा सदस्यहरुका लागि ५ लाखको दुर्घटना बीमा सुबिधा, ऋण बीमा, निःशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ्य सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नव दम्पती स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान, बाल बचतकर्ता सम्मान लगायतको सुविधा रहेको संस्थाका अध्यक्ष डीबी थापाले बताए । संस्थामा ६ हजार १ सय ३५ जना सदस्य एवम् ७४ करोड पुँजी रहेको थापाले बताए । कार्यक्रम संस्थाका उपाध्यक्ष पर्शुराम बास्तोलाको स्वागतमा तथा संचालक गोकुल पोखरेलको संचालन सम्पन्न भएको थियो ।