लायन्सद्वारा विद्यार्थीलाई बैंकिङ तालिम


भैरहवा– बैंकर्सहरूले स्थापना गरेको लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले भैरहवाका विभिन्न क्याम्पसहरुमा अध्यनरत विधार्थीहरुलाई बैंकिङ तालिम दिएको छ । क्लबले विद्यार्थीहरुलाई भैरहवामा २ दिनसम्म उक्त तालिम दिएको क्लबकी अध्यक्ष एवं सनराइज बैंकका अधिकृत ऋचा केसीले जानकारी दिइन् ।
क्लबका संस्थापक अध्यक्ष एवं मेगा बैंकका क्षेत्रीय प्रवन्धक अमृत थापाले बैंक तथा वित्तीय शिक्षाले युवा पुस्तालाई थप योग्य बनाउने भएकाले तालिम दिइएको बताए । बैंक तथा वितिय विषयको व्यावहारिक पक्षको अनुभव बोकेका बैंकमा कार्यरत कर्मचारीले दिएको तालिम थप लाभदायक हुन् सक्ने विश्वास गरिएको छ ।
तालिममा १ सय ३० जना विधार्थीहरू सहभागी थिए । सहभागीलाई ग्लोबल आइएमई बैंकका प्रबन्धक प्रेम सागर अग्रहरी, सिद्धार्थ बैंकका प्रबन्धक जीवन घिमिरे र वित्तीय स्तम्भकार एवं सन् राइज बैंकका कृष्णप्रसाद बस्यालले प्रक्षिक्षण दिएका थिए ।
क्लबले भैरहवाको साई ग्लोबल कलेजका ६० जना र रुपन्देही क्याम्पसका ७० जना विधार्थीहरूलाई बैंकिङ तालिम दिएको हो । क्लबले प्रत्येक वर्ष बैंकिङ तालिम संचालन गर्दै आएको अध्यक्ष तथा प्रशिक्षक केसीले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस्