April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

दुर्घटनामा परेर शाइन रेसुङ्गा बैंकका शाखा प्रमुख पाण्डेको मृत्यु

कपिलवस्तु- सवारी दुर्घटनामा परि कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा बस र कार ठोक्किंएर भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

वाणगंगा–२ का पाण्डे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड हुन् । उनी कपिलबस्तु जेसिजका पूर्व अध्यक्ष समेत हुन् ।

Advertisement

दुर्घटनामा कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते भएका छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति नौ बजेतिर चारनम्बरबाट गोरुसिंगे जाने क्रममा कारलाई शुरुमा ट्रकले ठक्कर दिएको र लगत्तै ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको थियो ।

सुरुमा दुर्घटनामा घाइते भएकाहरुलाई चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि गम्भीर घाइते पाण्डेलाई थप उपचार गर्न रुपन्देहीको क्रिमसन अस्पताल लगिएको थियो ।

उनको राति १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले बताए । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

शर्माको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ ।

कारमा सवार अर्का घाइते कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनालको पनि भैरहवामा उपचार जारी छ । छातीमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार प्यूठानको नौबाहिनी नगरपालिका ७ का ३३ वर्षीय जोगेन्द्र रोका पनि घाइते भएका छन् । उनको मुखमा चोट लागेको छ । रोकाको कपिलवस्तुको ४ नम्बरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।