March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

राष्ट्र बैंक तीस अर्बको रिपो जारी गर्दै

नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीबार सात दिन अवधिको रिपो जारी गर्न लागेको हो।

Advertisement

बैंकिङ प्रणालीमा तरलताको समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

Advertisement

यसअघि बैंकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन्। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ। बैंक तथा वित्तीय संस्थाले नियमित रुपमा एसएलएफ सुविधा लिने गरेका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालू आवमा बुधबारसम्म रु चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन्। बैंक तथा वित्तीय संस्थाले बुधबारमात्र १२ पटकमा रु २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ।