March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सिटिजन्स बैंकको साधारण सभा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा बिहीबार बैंकको केन्द्रीय कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौँमा सम्पन्न भएको छ।

Advertisement

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई ध्यानमा राखदै सम्पूर्ण सुरक्षात्मक उपाय अवलम्बनगरी बैंकले डिजिटल प्लाटफर्म जुममार्फतबैंकले सातौँ विशेष साधारण सभा सञ्चालन गरेको हो।

Advertisement

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) का लागि गरेको विशेष प्रस्ताव साधारण सभाबाट सर्वसम्मत पारित भएको हो।

यस विशेष साधारण सभाले सिर्जना फाइनान्स लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रको अनुमोदन गरेको छ।

सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडको पनि बिहीबारको विशेष साधारण सभाले समेत सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ।
दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्न बाटो खुलेको हो।

यसै आर्थिक वर्षभित्र सिर्जना फाइनान्स लिमिटेडलाई संयुक्त कारोबार प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष भण्डारीले जानकारी दिँदै डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागि सेयरधनीलाई बैंकसंचालक समिति सम्पूर्ण सदस्यको तर्फबाट आभार प्रकट गरे।

यसका साथै प्राप्तिपश्चात् बैंकको वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे।

०७८ साल जेठ २६ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ।

प्राप्तिपश्चात् बैंकको कुल शाखा १८९ हुनेछ। हाल यस बैंकको प्रदेश १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्तिपश्चात् उक्त प्रदेशमा बैंकको २७ र प्रदेश २ मा २० वटा शाखा रहेकामा प्राप्तिपश्चात् उक्त प्रदेशमा २७ वटा शाखा हुनेछन्।

सहमति अनुसार सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर पाउनेछन्।
सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ।

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो।

बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ। यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ।

प्राप्तिपश्चात् बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।