खाद्य व्यवस्था कम्पनीले भैरहवाबाट ५ हजार क्विन्टल सावा मनसुली धान खरिद गर्ने


भैरहवा–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाले यस बर्षका लागि किसानबाट ५ हजार क्विन्टल सावा मनसुली धान खरिद गर्ने भएको छ ।
किसानबाट खरिद गरिने सावा मनसुली धानको समर्थन मुल्य भने कम्पनीले निर्धारण गरिसकेको छैन । कम्पनीको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शोभा कुमारी सिंहले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बैठक बसेर अति चाँडो समर्थन मुल्य निर्धारण गरिने र धान खरिदका लागि आवश्यक तयारी गरिएको बताइन् । ‘आज भोली नै बैठक बसेर समर्थन मुल्य निर्धारण गर्ने तैयारीमा छौं’ सिंहले पब्लिक कुरासँग भनिन्, ‘खरिद मुल्य निर्धारण हुनासाथ मंसिरको पहिलो साता भित्रैबाट किसानसँग धान खरिद सुरु गर्ने छौं ।’ कम्पनीको भैरहवा कार्यालयबाट मसिनोमा गनिने मनसुली धानमात्र खरिद गर्ने उनले बताइन् ।
भैरहवाबाट धान खरिद गर्न थालेपछि रुपन्देही लगायत् पश्चिम नवलपरासी र कपिलबस्तु जिल्लाका किसानलेपनि आफ्नो धान भैरहवामा ल्याएर बिक्री गर्न सक्छन् । कम्पनीले भैरहवा बाहेक पश्चिम नवलपरासी र कपिलबस्तु जिल्लाको कुनैपनि स्थानमा खरिद केन्द्र राखेको छैन ।
सिहका अनुसार, नेपालगञ्ज, बर्दियाको राजापुर, धनगढी, दाङ लगायतका पश्चिमी क्षेत्रमा रहेका कम्पनीको कार्यालयबाट मोटा र मध्यम खालमा गनिने धानको खरिद मुल्य निर्धारण भइ किसानबाट धान खरिद गर्ने कार्य भैरहेका छन् । रुपन्देही आसपासका क्षेत्रमा बढी मात्रामा किसानले सावा मनसुली धान लगाउने भएकाले भैरहवाबाट सावा मनसुली धानकोमात्र खरिद गर्न लागिएको हो ।
नेपालगञ्ज, बर्दिया, धनगढी, दाङ लगायत् पश्चिमी क्षेत्रमा धान चाडै लगाएर काट्ने गरेकाले कम्पनीले चाँडो खरिद गर्ने गरेको र रुपन्देहीमा पश्चिममा भन्दा ढिलो रोपेर ढिलै काटिने हुँदा त्यही अनुरुप खरिद प्रकृयाको तैयारी गरिएको हो । मधेश प्रदेश लगायत पुर्वी क्षेत्रमा धान ढिलो रोपिने भएकाले अझ दुई हप्ता पछिमात्र पुर्वमा खरिद प्रकृया सुरु हुने सिंहले जनाइन् ।
‘किसानले बजारमा भन्दा धेरै मुल्य पाउने गरि खरिद मुल्य निर्धारण गर्ने छौं’ सिंहले भनिन्, ‘खरिद गरेको बिबरण कम्पनीको केन्द्रमा पठाएपछि सम्बन्धित किसानको बैंक खातामा केन्द्रले भुक्तानी पठाउने छ । भुक्तानीका लागि सम्बन्धित किसानको बैंक खाता हुन अनिबार्य छ । भुक्तानी धेरै दिनसम्म रोकिदैन ।’
मोटा र मध्यम खालका धानको खरिद मुल्य केन्द्रबाट सिफारिस भइ जिल्ला स्तरबाट निर्धारण हुने भएपनि सावा मनसुली धान रुपन्देही आसपास क्षेत्रमामात्र उपलब्ध हुने भएकाले सावा मनसुली धान खरिदकालागि स्थानिय स्तरमैं मुल्य निर्धारण हुने गर्छ । धान खरिदकालागि समर्थन मुल्य निर्धारण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्राथमिक खरिद समिति रहने गर्छ ।
कम्पनीमा धान बिक्री गर्न चाहने सम्बन्धित किसानले भने धानको गुणस्तरमा ध्यान दिन जरुरी छ । कम्पनीले धानको गुणस्तर हेरेरमात्र खरिद गर्ने गर्छ । कम्पनीको लुम्बिनी प्रादेशिक कार्यालयका सुचना अधिकारी तथा गुणस्तर अधिकृत बसन्तराज अधिकारीले भुस, पराल नभएको, अन्य धान नमिसीएको, धानमा बढि चिसोपन नभएको, नबिग्रीएको लगायत्का मापदण्ड हेरेरमात्र खरिद गरिने जनाए ।








लेखकको सम्वन्धमा