June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

बक्यौता रहेका वायु सेवा कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पत्राचार

Advertisement

भैरहवा– विमानस्थलको सेवा सुविधा लिएर हवाई सेवा सञ्चालन गर्ने तर विमानस्थललाई तिर्नु पर्ने रकम बक्यौता राखेका दर्जनौं वायु सेवा कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भुक्तानीका लागि सचेत गराउँदै पत्राचार गरेको छ ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यस वापत करोडौं रुपैयाँ भुक्तानी असुल गर्न बाँकी छ । भुक्तानी बाँकी रहेका वायु सेवा कम्पनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन जारी राखेकादेखि हाल विमानस्थलमा विमान थन्क्याएर राखेकासम्मका कम्पनी छन् ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भुक्तानीका लागि बिल बनेको ६० दिनसम्म रकम नतिरे बक्यौता बन्ने गरेको र बक्यौता बनेपछि सम्बन्धित वायु सेवा कम्पनीलाई सचेत गराउँदै भुक्तानी गर्न पत्राचार गर्ने गरिएको पब्लिक कुरासँग बताए । ‘यो नियमित प्रक्रिया हो । प्रत्येक ६० दिन दिन पछि सम्बन्धित एयरलाइन्सको बिल बन्ने गर्छ’, पाण्डेले भने, ‘भुक्तानी बाँकी रहेका सम्बन्धित एयरलाइन्स कम्पनीलाई सचेतना सहितको पत्राचार गरिसकिएको छ ।’ बक्यौता नतिर्ने एयरलाइन्सलाई विमानस्थल सेवा शुल्क नियमावली अनुरुप उडान सेवामा रोक लगाउन सकिने उनले जनाए ।

विमानस्थलका अनुसार, बक्यौता रकम बुझाउँन बाँकी रहेकामध्ये नेपाल वायुसेवा निगमको २० करोड ९९ लाख ७१ हजार, यती एयरलाइन्सको १० करोड २४ लाख ७९ हजार र विदेशी हवाई कम्पनी स्पाइस जेटको ५ करोड ३७ लाख ४ हजार रुपैयाँ छ । हिमालय एयरलाइन्सले हालसालै २५ करोड र स्पाइस जेटले १ करोड ५० लाख रुपैँया बक्यौता बुझाएका छन । स्पाइस जेटको भुक्तानी बाँकी अझ ५ करोड भन्दा धेरै छ । गुण एयरलाइन्सले २ करोड २९ लाख ४९ हजर, सौर्य एयरलाइन्सले ४६ लाख १८ हजार रुपैयाँ बक्यौता छ ।

हाल बन्द रहेकामध्ये कस्मिक एयरको २ करोड ६९ लाख, नेकोन एयरको ४ करोड ६३ लाख, नेपाल एयरवेजको ९६ लाख १४ हजार, सांग्रिला एयरको २ करोड ३७ लाख, र मुक्ति एयरलाइन्सले २६ लाख १६ हजार रुपैँया भुक्तानी बाँकी छ ।

महाप्रबन्धक पाण्डेले यस खालको बक्यौता केही हेलिकोप्टर सञ्चालन गरेको एयरलाइन्स कम्पनीको पनि बाँकी रहेको जनाए । ‘भुक्तानीका लागि वायु सेवा कम्पनीलाई सहज बनाउन किस्ताबन्दीमा बक्यौता तिर्दै जान सकिने प्रावधान छ’, पाण्डेले भने, ‘केही कम्पनी बक्यौता बुझाउने प्रक्रियामै रहे पनि केहीले भने पटक पटक ताकिता गर्दासमेत बक्यौता बुझाउन आनाकानी गर्दैै आएका छन् ।’