June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

नेपालगन्ज विमानस्थलको टर्मिनलको नयाँ अवतार

Advertisement

बाँके– नेपालगन्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ । विमानस्थलको नयाँ टर्मिनल भवन (ब्लक ए, बी र सी), विमान पार्किङ क्षेत्र, सवारी साधन पार्किङ, गेष्ट हाउस, ढल व्यवस्थापन, बगैंचा, फुटपात, शौचालय लगायतका संरचना निर्माण गर्न ठेकेदार ‘शर्मा एण्ड कम्पनी’ ले सन् २०२२ डिसेम्बर १६ मा सम्झौता गरेर काम सुरु गरेको थियो ।

Advertisement

‘नेपालगन्ज विमानस्थल टर्मिनल भवन निर्माण आयोजना’ कार्यालयका अनुसार उक्त कम्पनीले सन् २०२५ डिसेम्बर १५ मा सबै काम सम्पन्न गर्ने गरी मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता गरेको थियो । आयोजना प्रमुख नलविक्रम थापाले म्याद सकिनु भन्दा करिब डेढ महिनाअगावै निर्माण कम्पनीले काम पूरा गरेको जानकारी दिए ।

थापाले भने, ‘काम एकदमै सन्तोषजनक छ, सबै काम गुणस्तरीय छन्, हाम्रा इन्जिनियरको प्रत्यक्ष निगरानीमा काम सम्पन्न भएको छ ।’ तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगन्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिने छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालगन्ज विमानस्थालमा निर्माण सम्पन्न भएको टर्मिनल भवनको निरीक्षण गर्दै यथाशीघ्र यो टर्मिनल भवन सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिए । पोखरा, भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गुणस्तरीय भवन निर्माण भएको बताउँदै यसले रोजगारी वृद्धिमा समेत टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।

काठमाडौँपछिको ठूलो विमानस्थल मानिएको नेपालगन्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै महानिर्देशक अधिकारीले उडानका सन्दर्भमा नेपाल र भारतबीच छलफल जारी रहेको बताए । ‘नेपालगन्ज विमानस्थलको टर्मिनल भवनबाट अन्तरराष्ट्रिय विमानको उडान गर्न पनि सहज हुनेछ’, उनले भने ।