June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

मंसिर १५ देखि तिलोत्तमामा महोत्सव, ३ सय स्टल रहने

Advertisement

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा आउँदो मंसिर १५ गतेदेखि आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना महोत्सव हुन लागेको हो ।

Advertisement

स्वदेशी उत्पादनको प्रबद्र्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३ सय भन्दा बढी स्टल रहने संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।

आयोजकका अनुसार अहिलेसम्म १५० वटा स्टल बुक भइसकेका छन् । तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी तिब्र पारिएको जिएमले जनाए । फिस टनेल, जलपरी, लन्डन ब्रिज आकर्षका रुपमा रहनुका साथै विभिन्न विधाका प्रतियोगिताहरु राखिने मेला सचिवालयले जनाएको छ ।

मेलामा करिब ५ लाख दर्शक–उपभोक्ता भित्राएर २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले मुलुकको आर्थिक अवस्था खस्कँदै गएको र मुलुक परनिर्भर बन्दै गएको अवस्थामा स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि टेवा पुर्याउन मेला आयोजना गरिएको बताए । मेलामा वृद्धवृद्धालाई निःशुल्क, विद्यार्थीलाई छुटको व्यवस्था समेत गरिएको छ । मेला मंसिर ३० गतेसम्म चल्नेछ ।