भन्सारद्वारा तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख राजस्व संकलन


भैरहवा– यहाँस्थित भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–२०८३ को तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन पछिल्लो तीन महिनामा भन्सार विभागले तोकेको लक्ष्यको ९७ दशमलब १५ प्रतिशत मात्रै हो ।
भन्सारले चालु वर्षको साउन, भदौ र असोज महिनामा २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व लक्ष्य पाएको थियो । जुन लक्ष्य भने पूरा हुन सकेन । भन्सारका अनुसार साउनमा लक्ष्य भन्दा बढी राजस्व संकलन भए पनि भदौ र असोजमा भने लक्ष्य पूरा हुन सकेन । दसैं, तिहार, छठ जस्ता पर्वहरुमा समेत यसपटक आयात खुम्चिएपछि राजस्व लक्ष्य पूरा हुन नसकेको हो ।
जेनजी आन्दोलनले पनि राजस्व प्रभावित भएको भन्सार प्रमुख शिवलाल न्यौपानेले बताए । आन्दोलनका क्रममा भन्सारमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
साउनमा भन्सारले ९ अर्ब २ करोड ९३ लाख ३४ हजार राजस्व संकलन गरेको छ । साउनमा भन्सारले ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार राजस्व लक्ष्य पाएको थियो । यस्तै, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ सय रुपैयाँ लक्ष्यमा ९ अर्ब ४३ करोड ९४ लाख २४ हजार मात्र संकलन भएको छ ।
यस्तै, असोजमा १० अर्ब १ करोड ७४ लाख एक हजार लक्ष्यमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार मात्रै राजस्व संकलन भएको भन्सार प्रमुख न्यौपानेले जानकारी दिए । भन्सारका अनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी मोटरसाइकल आयात भएका छन् ।
यस्तै, जीप, कार र भ्यानहरु, पेट्रोल, विद्युतीय गाडी, एलपी ग्यास, अलकत्रा विटुमिन, एमएस विलेट, सुपारी, चकलेट, स्पोन्ज तथा फेरस आइरन बढी मात्रामा आयात भएको छ । भन्सार प्रमुख न्यौपानेका अनुसार राजस्व संकलनमा मुख्य आयात हुने १० वस्तुको योगदान ५० प्रतिशत भन्दा बढी छ ।








प्रतिकृया दिनुहोस्