June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

रुपन्देहीमा उत्पादित फ्रेन्च फ्राइज अब अमेरिकामा

Advertisement

भैरहवा– रुपन्देहीमा उत्पादित फ्रोजन फ्रेञ्च फ्राइज (जमाएको आलु चिप्स) अब अमेरिकामा उपलब्ध हुने भएको छ । जिल्लाबाट पहिलो पटक निर्यात सम्भव भएर फ्रेञ्च फ्राइज संयुक्त राज्य अमेरिका पुग्ने भएको हो । जिल्लास्थित फस्र्ट च्वाइस फुड्स प्रालिले उत्पादन गरेको फ्रोजन फ्रेञ्च फ्राइज मंगलबारबाट निर्यात प्रारम्भ भएको हो । यहाँबाट अमेरिकाको जेन्ट कम्पनीलाई उक्त फ्रेञ्च फ्राइज पठाएको उत्पादक कम्पनीले जानकारी दिएको छ ।

Advertisement

भैरहवा भन्सार कार्यालयका अनुसार मंगलबार दुईवटा कन्टेनरमा फ्रेञ्च फ्राइज लोड गरिएको हो । पहिलो लटमा जम्मा ४३ हजार ५ सय २० किलोग्राम फ्रेञ्च फ्राइज निर्यात भएको हो । यसरी निर्यात सम्भव भएपछि यसलाई भैरहवा भन्सार कार्यालयले ऐतिहासिक उपलब्धि भएको दाबी गरेको छ । फस्र्ट च्वाइस फुड्स प्रालि नेपालको पहिलो फ्रेञ्च फ्राइज उत्पादन गर्ने उद्योग हो ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा उद्योग स्थापना भएको छ । उद्योगले गत फागुन महिनादेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको थियो । उद्योग सुरु भएपछि नै यसले निर्यात गर्न थालेको थियो । सुरुमा भारतीय बजारमा निर्यात गरिएको थियो । उद्योगका सञ्चालक तथा अध्यक्ष कृष्णप्रसाद पौडेल हुन् । यो उद्योग युरोपेली प्रविधिमा आधारित छ ।
करिब पाँच बिगाहा जमिनमा उद्योग फैलिएको छ । यसको भवन ६० हजार वर्ग फिटको छ । पूर्ण क्षमतामा सञ्चालन गर्न २ अर्बभन्दा बढी लगानी आवश्यक छ ।

हालसम्म यसमा डेढ अर्ब रुपैयाँ लगानी भएको छ । यो लगानीमध्ये ७० प्रतिशत बैंक ऋण हो। बाँकी ३० प्रतिशत स्वपुँजी रहेको छ । अहिले यो उद्योगमा २ सय जनाले रोजगारी पाएका छन् । उद्योगले फ्रेञ्च फ्राइज मात्र उत्पादन गर्दैन । यसले आलु टिक्की, स्माइलीज र ह्यास ब्राउन पनि उत्पादन गर्छ । उद्योगले खाद्य सुरक्षा र गुणस्तरको विश्वव्यापी मानकको प्रमाणपत्र पनि प्राप्त गरेको छ ।