July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

विदेशमा १४ वर्ष होटल गरेर स्वदेश फर्किएका भैरहवाका गुरुङ दम्पत्तीले खोले रेष्टुरेन्ट र जिम हाउस

Advertisement

भैरहवा– रुपन्देहीको भैरहवाका एक दम्पत्तीले १४ वर्ष विदेशमा होटल व्यवसाय संचालन गरेपछि त्यहाँको व्यवसाय छाडेर स्वदेशमै रेष्टुरेन्ट र जिम हाउस संचालनमा ल्याएका छन् । सिद्धार्थनगर नगरपालिका–८, बैंककोलोनी निबासी चेतकाजी गुरुङ र उनकी श्रीमती वर्षाले आफ्नै घरमा ‘नक्स बारबेल’ जिम हाउस र ‘क्याफे चार्ली’ नामको रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् ।

Advertisement

कुनै समय रोजगारीका लागि इराक र अफगानिस्तानसम्म पुगेका चेतकाजी पछिल्लो १४ वर्ष यता हङकङमा बसेर रेष्टुरेन्ट चलाउँदै आएका थिए । गत वर्ष स्वदेश फिर्ता आएका उनले भैरहवामै केही गर्ने तर हङकङ नफर्किने निर्णय गरे । भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उनी रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए । यसक्रममा उनी हङकङ पुगेर रेष्टुरेन्ट खोलेका थिए ।

‘लामो समय भारतीय सेनामा जागिर गरेँ, त्यहाँबाट सेवानिवृत्त पछि विभिन्न मुलुकमा काम गरेँ, आफ्नै व्यापार पनि संचालन गरेँ’, चेतकाजीले भने, ‘अब, आफ्नै मुलुकमा केही गर्नुपर्छ भनेर स्वेदश फर्किएर आफ्नै घरमा जिम हाउस संचालन गरेँ । आजदेखि जिमसँगै रेष्टुरेन्ट पनि संचालनमा ल्याएको छु ।’

आइतबारदेखि चेतकाजी दम्पत्तीले आफ्नै घरमा जिमसँगै रेष्टुरेन्ट पनि संचालन गरेका छन् । ३ करोड रुपैयाँ लगानीमा उनले घर, जिम हाउस र रेष्टुरेन्ट संचालन गरेको बताए । आइतबारदेखि संचालनमा ल्याइएको रेष्टुरेन्टको मुख्य आकर्षक नेवारी खाजा हो । ‘परम्परा र आधुनिक परिकार मिलाएर हामीले नेवारी खाजा तयार गर्छौं’, वर्षाले भनिन्, ‘सहरदेखि गाउँका नेवारी खाजाका पारखीहरुको मन जित्न सफल हुन्छौं भन्ने अपेक्षा लिएका छौं ।’

संचालकका अनुसार नेवारी खाजामा विभिन्न स्थानीय परिकारहरु समावेस छन् । जसले स्थानीय उत्पादनको समेत प्रबद्र्धन गर्नेछ । यस्तै, अन्य खाजासेटहरु समेत रेष्टुरेन्टमा उपलब्ध रहेको वर्षाले जनाइन् । गुरुङ दम्पत्तीले आफ्नै घरमा गत वर्षदेखि जिम हाउस पनि चलाएका छन् । दुईवटा तल्लामा आधुनिक जिमका उपकरण राखेर आकर्षक सजावटसहित जिम संचालन गरिएको छ । जसले नियमित जिम गर्ने युवाहरु आकर्षित भइरहेको चेतकाजीले जनाए ।

जिमसँगै रेष्टुरेन्ट पनि संचालन पछि दैनिक जिम गर्न आउनेहरुलाई थप सहजता भएको उनले बताए । स्वदेशमै केही गरौं भनेर विदेशको व्यापार समेत छाडेर आएको जनाउँदै चेतकाजीले ग्राहकको रोजाईमा रेष्टुरेन्ट पर्ने अपेक्षा व्यक्त गरे ।

जिम हाउसमा हाल करिब एक सयको हाराहारीमा नियमित जिम गर्न आउँछन् । यहाँ २ जनालाई रोजगारी दिइएको वर्षाले बताइन् । यस्तै, रेष्टुरेन्टमा ४ जना रोजगाररत छन् । जिम र रेष्टुरेन्ट राम्रो हुँदै गए कर्मचारीको संख्या पनि बृद्धि गर्दै लैजाने संचालकको भनाई छ । गुरुङ दम्पत्ती पनि नियमित रुपमा आफै काममा खटेर आफ्नो सेवाहरुलाई थप प्रभावकारी बनाउन लागि परेका छन् ।