पवन प्यालेसः लुम्बिनी हेरिटेज हुँदै अब ‘क्राउन प्लाजा लुम्बिनी’


भैरहवा– रुपन्देहीको लुम्बिनीमा रहेको होटल पवन प्यालेस लुम्बिनी हेरिटेज हुँदै अब ‘क्राउन प्लाजा लुम्बिनी’ नामबाट सञ्चालनमा आउने भएको छ । भैरहवाका व्यवसायी पवन हलवाईले निर्माण गरेको होटल लामो समयसम्म पवन प्यालेस नामबाट सञ्चालनमा आएको थियो ।
हलवाईले स्वामित्व विक्री गरेपछि लुम्बिनी हेरिटेज नामाकरण गरिएको थियो । पछिल्लो समय यसको व्यवस्थापनमा अन्तर्राष्ट्रिय समूह प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एन्ड रिसोर्ट र लुम्बिनी हेरिटेज लिमिटेडबीच सहकार्य सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार लुम्बिनीमा ‘क्राउन प्लाजा लुम्बिनी’ नामक विश्वस्तरीय होटल सञ्चालन हुने भएको छ ।
भारतको नयाँ दिल्लीमा भएको विशेष कार्यक्रममा लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य र आइएचजीका दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै आइएचजीले पहिलो पटक काठमाडौं बाहिर आफ्नो ब्रान्ड विस्तार गर्दै लुम्बिनीमा सेवा सुरू गर्न लागेको हो । हालको लुम्बिनी हेरिटेज होटललाई पुनः ब्रान्डिङ गरी क्राउन प्लाजा बनाइनेछ ।
होटलमा १४७ कोठा, ७ सुइट, रेष्टुरेन्ट, स्विमिङ पुल, फिटनेस सेन्टर लगायतका आधुनिक सुविधा रहनेछन् । साथै, कम्पनीले ८ महिनाभित्र क्यासिनो सञ्चालन गर्ने योजना पनि बनाएको छ । गौतम बुद्धको जन्मस्थलबाट करिब १ दशमलम ९ किलोमिटर टाढा रहेको यो होटलले धार्मिक र व्यवसायिक यात्रुहरूका लागि सुविधा दिनेछ ।
कम्पनीले सन् २०२६ भित्र आइपिओ जारी गर्ने योजना समेत अघि सारेको छ । यसअघि आइएचजीको क्राउन प्लाजा ब्रान्ड नेपालमा सोल्टी होटल मार्फत सञ्चालनमा थियो । सन् २०२१ मे १४ मा सम्झौता समाप्त भएपछि यो ब्रान्ड पुनः लुम्बिनी मार्फत नेपाल फर्किएको हो ।








प्रतिकृया दिनुहोस्