मंसिर ३ देखि भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव’ सुरु हुने


भैरहवा–चेम्बर अफ कमर्स रुपन्देहीले आउदो मंसिर ३ गतेदेखि २१ गतेसम्म भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ सञ्चालन गर्ने भएको छ ।
‘स्थानिय बजारमा खरिद गरौं स्थानिय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरौं स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सव बिशेष गरी कृषि, पर्यटन, उद्योग र व्यापार प्रबद्र्धन गर्ने मुख्य उद्येश्य रहेको छ ।
महोत्सवका वारेमा जानकारी दिन मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रबद्र्धन गर्ने उद्येश्यले महोत्सवको आयोजना गरिएको बताए ।
‘चेम्बर अफ कमर्स रुपन्देहीले स्थापना काल बाटै उद्योग व्यापार कृषि तथा पर्यटन क्षेत्रको हकहित तथा संरक्षण प्रबद्र्धनमा मुख्य कार्य गर्दै आएको छ’ रोक्काले भने, ‘महोत्सवमा नेपालमैं सस्तो पर्ने स्वदेशी उत्पादित बस्तुको वारेमा आम उपभोक्तालाई जानकारी गराइनुको साथै महोत्सवबाट रोजगारीको समेत सिर्जना गरिने छ ।’
लुम्बिनी क्षेत्रका पर्यटकिय स्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा बृद्धि गराइ स्थानीय बस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्याउने, कृषिलाई बैज्ञानिक तथा व्यवसायीकरण गर्नमा सहयोग पुर्याउने, आधुनिक उपकरण नबिन प्रबिधि र औदोगिक उपकारणका वारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने उद्येश्य पनी महोत्सवले राखेको छ ।

महोत्सवमा रुपन्देहीमा उत्पादित कृषि उपजहरुको प्रदर्शनी र स्थानिय तथा राष्ट्रिय कलाकारहरुबाट कलाकारिताको प्रदर्शन पनि गरिने छ । स्थानीय स्तरमा उत्पादित बस्तु तथा हस्तकला सामाग्रीको बजार बिस्तार तथा प्रबन्ध मिलाइने छ ।
चेम्बर अफ कमर्स रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले यस पटकको महोत्सवमा फिस टनेल, जलपरी, आइफिल टावर लगायत बाल उद्यानको मनोरञ्जन र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षण रहेको बताइन् ।
‘नेपालमैं पहिलो पटक भियतनामबाट चारजना महिला जलपरी ल्याएर घण्टौंसम्म पानीभित्र विभिन्न आकर्षक क्रियाकलापको प्रदर्शनी गरिने छ’ अधिकारीले भनिन्, ‘महोत्सवको टिकटदर पहिला भन्दा सामान्य केहि थप भएपनि त्यस भित्रै जलपरी, फिस टनेल र समग्र महोत्सवको अवलोकन गर्न पाउने छन् ।’
उनका अनुसार, टिकट दर यस पटक प्रतिदर्शक १ सय ५० रुपैँया कायम गरिएको छ । बिद्यार्थीलाई ८० र समुहगत बिद्यालय बिद्यार्थीलाई ५० रुपैयाँ छ । शारीरिक अशक्त र ७० बर्ष भन्दा माथिका ज्येष्ठ नागरीकको लागि ५० रुपैँया र ८० भन्दा माथिका नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ ।
बिगतकै स्थान सद्धार्थनगर नपा–८ अञ्चलपुरमा सञ्चालन हुने उक्त महोत्सवमा २ सय ५० वटा स्टल रहने र महोत्सव सञ्चालनमा १ करोड ३२ लाख रुपैया लाग्ने अनुमान गरिएको आयोजकले जनाएका छन् ।
चेम्बर अफ कमर्स रुपन्देहीका बरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सवलाई सफल बनाउन सवैको सहयोग अपरिुहार्य रहेको बताए । ‘नेपाललाई कृषि प्रधान देश भनिए पनि त्यस अनुरुप एक पालिका एक उत्पादन गर्ने तर्फ कुनै पनि पालिकाको पहल छैन’ यादवले भने, ‘योमहोत्सवलाई उर्जावान् र बहु उपयोगी बनाइने छ ।’
महोत्सवको सह प्रायोजकमा एस.आर. स्टिल एण्ड एस.आर. फुड्स प्रालि र प्रबद्र्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश रहेको छ ।








प्रतिकृया दिनुहोस्