July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

आगलागीबाट गुल्मीमा एक घर जलेर नष्ट

Advertisement

गुल्मी – आगलागीबाट गुल्मी जिल्लाको मदानेमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । मदाने गाउँपालिका–७, टिमुरखर्कमा गएराति करिब ८ बजेर १५ मिनेटमा ७० वर्षीय देवेबहादुर वलीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घर र ढुङ्गा–माटोले बनेको बङ्गलामा आगलागी भएको हो ।

Advertisement

आगलागीको जानकरी भएपछि प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार आगो वलीकै छोरा ३८ वर्षीय खिमबहादुरले लगाएको आशंका प्रहरीको छ ।

इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार मानसिक अवस्था सामान्य नभएका खिमबहादुर हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भए पनि मानवीय र चौपाय क्षति भने नभएको जनाइएको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो राति करिब १२ बजे नियन्त्रणमा लिइएको थियो ।