July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

ग्रामीण र समाज लघुवित्त मर्जर, एकीकृत कारोबार सुरु

Advertisement

बुटवल– रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको ग्रामीण बिकास लघुवित्त बित्तीय संस्था लिमिटेड र सर्लाहीको समाज बिकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भएका छन् । दुबै संस्थाबीच भएको निर्णय र सम्झौता बमोजिम एक आपसमा गाभिए पश्चात् एकीकृत वित्तीय कारोबार शुरु भएको छ । मर्जर पश्चात् संस्थाको कुल पुँजी १ अर्ब पुगेको छ ।

Advertisement

कुल ९८ करोड पुँजी रहेको बुटवलको ग्रामीण बिकास र जम्मा २ करोड पुँजी रहेको समाज बिकास लघुवित्त संस्थाबीच गाभ्ने र गाभिने प्रक्रिया (मर्जर) सम्पन्न भएसँगै एकीकृत कारोबार शुरु भएको हो । ग्रामीण बिकास लघुवित्त बित्तीय संस्था संचालक समितिका अध्यक्ष भरतराज कोइरालाले एक कार्यक्रमका बिच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे ।

एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै ग्रामीण बिकास लघुवित्त संचालक समितिका अध्यक्ष कोइरालाले ग्रामीण क्षेत्रमा गरिबी निवारणका लागि बिना धितो कर्जा प्रवाह र असुली कार्य गर्दै आएका दुई लघुवित्त संस्था गाभिनु सबैका लागि हितकर भएको दावी गरे । वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जरको नीतिलाई आत्मसात गरेर अघि बढ्न र वित्तीय कारोबारलाई थप ब्यबस्थित र प्रभावकारी बनाउन सबैलाई आग्रह गरे ।

प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले बिगत ३ दशक अघिदेखि ग्रामीण क्षेत्रका कम आयआर्जन भएका महिलाहरुको आर्थिक सवलीकरणमा टेवा पुराउँदै आएको ग्रामीण बिकास लघुवित्त बित्तीय संस्थाले आफ्नो पुँजी र कार्यक्षेत्रलाई थप बलियो बनाउन मर्जरको योजना अघि बढाएको जनाए । ग्रामीण क्षेत्रका जनताको आर्यआर्जनमा बृद्धि गरि मुलुकको आर्थिक बिकासमा समेत योगदान पुराउने उद्देश्यका साथ काम गरिरहेको उनले जानकारी गराए ।

कार्यक्रममा संस्थाका नायव कार्यकारी प्रमुख दिपकप्रसाद पाण्डेले लघुवित्त बित्तीय संस्थालाई सवल बनाउन कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मर्जर पश्चात् थप उर्जा र उत्साहका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए । कार्यक्रममा संस्थाका संचालक मनोजकुमार खड्का, साविकको समाज लघुवित्त संस्थाका संचालक सरोजकुमार महतो, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वर लम्साल, ग्रामीण बिकास लघुवित्त कर्मचारी संगठनका अध्यक्ष अमर पौडेल, मधुसुदन पोखरेल लगायतले लघुवित्त क्षेत्रमा संस्थाले खलेको भूमिका र यसको प्रभावबारे चर्चा गरेका थिए ।