July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

सुस्तायो बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम

 

Advertisement

Advertisement

भैरहवा–तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने भनेर सम्झौता गरिएको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम हाल सुस्ताएको छ । अघिल्लो असार १३ गते सम्झौता गरिएको यस आयोजना निर्माण सम्पन्न गर्ने मिति हिसावले अव दुई बर्ष भन्दा कम समय छ । हालसम्म आयोजनाको निर्माण कार्य १५ प्रतिशतमात्र पुरा भएको छ ।

सम्झौता भएको झण्डै १६ महिनाको अवधीमा १५ प्रतिशतमात्रै काम सम्पन्न हुनुले कतै यो आयोजनाको पनि बुटवल–नारायणगढ सडक खण्डको जस्तै हबिगत भएर आम यात्रुले बर्षौंसम्म सास्ती खेप्नु पर्ने त होइन ? भन्ने आशंका बढेको छ ।

आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले वर्षायाम, जेनजी आन्दोलन र दसैँ-तिहार जस्ता चाडपर्वका कारण कामदार अभाव हुँदा निर्माणको काम पछिल्लो समय केही सुस्त भएको बताउँछिन् ।
उनका अनुसार, सामान्यतया ८ सय कामदार रहने ठाउँमा अहिले १ सय ५० देखि २ सयको हाराहारीमा मात्र छन् । काम तीव्र गतिमा हुँदा महिनामा तीन-चार प्रतिशतसम्म प्रगति गर्न सकिने भए पनि पछिल्ला केही महिनामा त्यो सम्भव नभएको भनाइ उनको छ ।

‘सडक विस्तार अन्तर्गत पुल, कलभर्ट, अन्डरपास, नाली र पर्खाल लगाउने काम भइरहेको छ’, उनले भनिन्, ‘आयोजनाको जटिल आधार संरचनाहरु पूरा भइसकेको र अब संरचनात्मक जडानका लागि तयारी भइरहेको छ ।’

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको ६९ किलोमिटर सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल–गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा निर्माणको काम जारी छ । कुल १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरि चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले यसको ठेक्का लिएका छन् ।

बाँकी १९ किलोमिटर (गोरुसिङ्गे–चन्द्रौटा खण्ड) विस्तारको प्रक्रिया सरकारले चाँडै अघि बढाउने तयारी गरेको छ ।