प्लाष्टिकको फूलमाला बिक्री गरे बर्दघाटमा जफत गरी नष्ट गरिने


भैरहवा– नजिकिँदै गरेको तिहार र छठ पर्वलाई लक्षित गरेर पश्चिम नवपरासीको बर्दघाट नगरपालिकाले प्लाष्टिकका फूलमालाको बिक्री गर्ने व्यवसायीमाथि कारवाही गर्ने भएको छ ।
यसका लागि नगरपालिकाले बजार अनुगमन प्रक्रियालाई तिब्रता दिँदै कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । यस सम्बन्धि बर्दघाट नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरवासी सवैमा प्लाष्टिकको माला तथा फूलको प्रयोग तथा बिक्री नगर्नका लागि सचेत गराएको छ ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय फूलको उत्पादनलाई प्रबद्र्धन तथा संरक्षण गर्न र बातावरण संरक्षणका लागि अप्राकृतिक फूल र मालाको प्रयोगलाई निषेध गरिएको पब्लिक कुरासँग बताए । प्लाष्टिकको माला र फूलको आयात गरि प्रयोग गर्दा स्थानीय किसानको उत्पादन खपत नभइ निरुत्साहित भए भने अर्कोतर्फ प्लाष्टिकको फूल र मालाको प्रयोगले नगरमा प्रदूषणको समस्या बढेको भनाइ नगरप्रमुख श्रेष्ठको छ । प्लाष्टिकको मालाबाट आगजनीको जोखिम पनि बढि हुने उनले बताए ।
‘सूचनाको अटेर गरेर अप्राकृतिक फूल र मालाको प्रयोगमाथि कारवाही गर्छौं’, श्रेष्ठले भने, ‘बजार अनुगमनका क्रममा प्लाष्टिकको फूलमाला भेटिएमा तत्कालै जफत गरेर कारवाही गर्छौं ।’ उनका अनुसार, जफत गरिएका प्लाष्टिकका फूलमालालाई जलाउँदा बातावरण दुषित हुने भएकाले खाल्टो खनेर जमिनमा गाडिने छ । गत वर्ष पनि नगरमा प्लाष्टिकको माला र फूलको प्रयोगलाई निरुत्साहित गर्दै अटेर गरेर बिक्री गर्ने व्यवसायीको माला जफत गरिएको थियो ।
स्थानीय स्तरमा फूलको उत्पादनलाई प्रोत्साहन गर्न बर्दघाट नगरपालिकाले फूलको बिरुवा किसानलाई सहज रुपमा उपलब्ध गराइ बितरण गरेको थियो । नगरप्रमुख श्रेष्ठले नगरपालिका अहिले नै फूलमा आत्मनिर्भर भइसकेको नभएए पनि आत्मनिर्भर उन्मुख रहेको जानकारी दिए । ‘हामी फूलमा करिव ६० प्रतिशत आत्मनिर्भर भैसकेका छौं’, उनले भने, ‘फूलको स्वदेशी उत्पादनलाई संरक्षण गर्न हामी हरसम्भवको पहल जारी राखेका छौं ।’

नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृत बाबुराम पौडेलले प्लाष्टिकका माला तथा फूलको प्रयोगलाई निरुत्साहित गर्न बजार अनुगमन प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गरिने बताए ।
बुटवलमा पनि प्लाष्टिकको माला प्रयोग नगर्न आग्रह
बुटवल उपमहानगरपालिकाले पनि तिहार र छठपर्वमा प्लास्टकिका फूल र मालाको प्रयोग र बिक्री बितरण नगर्न नगरवासीमा आग्रह गरेको छ ।
नगरप्रमुख खेलराज पाण्डेयले स्थानीय फूल उत्पादन र प्रवद्र्धन गर्ने दायित्व सवैको भएको उल्लेख गर्दै प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षती पुर्याउने र माटोमा नगल्ने भएकाले वातावरणीय सौन्दर्यमा नकारात्मक असर पर्ने भन्दै प्रयोग नगर्न आग्रह गरेका हुन् ।








प्रतिकृया दिनुहोस्