July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

शान्ति-सुरक्षा प्रभावकारी भएन, चोरीतस्करी बढ्यो- व्यवसायी, शान्तिसुरक्षा सुदृढ छ, ढुक्कले व्यवसाय गर्नुस्- सुरक्षा निकाय

Advertisement

भैरहवा–जेनजी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था कमजोर भएको र व्यवसायमा प्रतिकुल असर परेको भैरहवाका व्यवसायीले बताएका छन् । जेनजी आन्दोलनपछि खुल्ला सिमानाको प्रयोग गर्दै भारतबाट अवैध व्यापार तथा कारोवार बढ्न थालेकाले स्वदेशी व्यवसाय झनझन् सङकटमा पर्दै जान थालेको दावी उनिहरुको छ ।

Advertisement

सिद्धार्थ उद्योग बाणिज्य सँघले आयोजना गरेको ‘खुल्ला सिमाना तथा शान्ति सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले जेनजी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था चुनौतीपुर्ण बन्दै जान थालेको भन्दै चिन्ता व्यक्त गरे ।

शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउदै स्वदेशी व्यवसाय प्रबद्र्धनकालागि निजी क्षेत्र सुरक्षा निकायसँग सहकार्य गरेर सँगै अगाडी बढ्न तयार रहेको प्रतिबद्धता व्यवसायीले व्यक्त गरेका छन् ।

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जेनजी आन्दोलनपछि खुल्ला सिमानाको प्रयोग गर्दै हुने तस्करी तथा दुई नम्बरी कार्य बढ्न थालेकाले दिपावली पर्वको मुखमापनि स्वदेशी बजारमा रौनकता आउन नसकेको बताए ।

‘खुल्ला सिमानालाई नियन्त्रण गर्न नसक्दा एकातिर भारतबाट हुने अवैध कारोवार बढ्न थालेको छ भने अर्कोतर्फ घरायशी प्रयोजनकै नाममा भन्सार नाकाबाटै जतिपनि मालसामान ल्याउन छुट हुन थालेपछि स्वदेशी बजार सुनसान छन्’ आचार्यले भने, ‘सिमापारीको सुनौली बजारमा भने दिन प्रतिदीन नेपाली उपभोक्ताको भिडले सवारी साधन पार्किङ समेतको अभावले नेपाली ग्राहकले कुटाइ खानु पर्ने अवस्था सिर्जना हुन थालेको छ ।’

सिमा क्षेत्रबाट अवैध कारोवार गर्नेले पनि जेनजीको नाम लिएर सुरक्षाकर्मी तथा भन्सार कर्मचारीलाई धम्की दिने गर्न थालेको, सुरक्षाकर्मीको उपस्थिती साँघुरिदै जान थालेको, हरेक व्यवसायी तथा नागरिक शान्ति सुरक्षाको बिषयलाई लिएर त्रसित हुन थालेको, चोरी बढ्दै जान थालेको, सडकमा यात्रा गरेका सर्वसाधारणलाई तर्साउदै साइलेन्सर पड््काउदै मोटरसाइकल चलाउने जमात बढ्दै जान थालेको, सुरक्षा निकायको मनोबल घटेको लगायत्का बिषयमा अन्तरक्रिया कार्यक्रम केन्द्रित रह्यो ।

अवपनि यस्तै आन्दोलन भएमा व्यवसायी कसरी सुरक्षित रहने ? भन्ने प्रश्न अधिकांश व्यवसायीको थियो । जेनजी आन्दोलनको वेला तोडफोड र आगजनी गर्दै आतङक मच्चाउने घुषपैठियाको पहिचान र उनिहरुमाथि भैरहेको कारवाही प्रकृयाका वारेमापनि व्यवसायीको जिज्ञासा थियो ।

संघका उपाध्यक्ष गोबिन्द ज्ञवालीले कालिदह नाकाबाट खुलेआम रुपमा तस्करी हुन थालको र मोटरसाइकलबाटै पेटीका पेटी टायल समेतको दुइ नम्बरी हुन थालेको बताए । ‘सडकमा मोटरसाइलको साइलेन्सर पड्काउदै हिड्ने प्रबित्तिले सडकमा यात्रा गर्दा आतङकित हुन परेको छ’ अर्का उपाध्यक्ष हरि बहादुर थापाले भने ।

संघका पुर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले जेनजी आन्दोलनको बेलामा रुपन्देही र बिशेषगरि भैरहवामा जुन रुपबाट शान्ति सुरक्षाको योजना बनाइनु पर्ने थियो त्यस अनुरुप योजना नबनाइदा क्षेती धेरै हुन पुगेको बताए ।

नजिकै भारतसँगको खुल्ला सिमाना र लुम्बिनीका कारण रुपन्देहीमा शान्ति सुरक्षाको योजना प्रभावकारी रुपबाट बनाइनु पर्ने भनाइ उनको थियो । ‘पहिला शान्तिसुरक्षा र चोरी तस्करीका वारेमा हरेक जानकारी व्यवसायीले सुरक्षा निकायलाई दिन्थ्यौं अहिले डराइरहेका छौं’ श्रेष्ठले भने, ‘कतै लुटिएका सुरक्षाकर्मीको पोशाक र हतियारबाटै व्यवसायीमाथि आक्रमण हुने त होइन ? भन्ने त्रास व्यवसायीलाई छ ।’

अहिलेपनि घुष प्रकयामा र चोरी तस्करीमा कुनै कमी नभएको दावी श्रेष्ठले गरे । संघका पुर्व अध्यक्ष तथा महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद न्यौपानेले सुरक्षाकर्मीले चाहेमा तस्करी रोकिने दावी गरे ।

महासंघका केन्द्रिय सदस्य तथा उद्योग समिति सभापती राजेश अग्रवालले जेनजी आन्दोलनपछि सुरक्षाको बिषयलाई लिएर व्यवसायीको आत्मबल घटेको बताए ।

उता, रुपन्देहीका सुरक्षा निकायका प्रमुखले भने शान्ति सुरक्षाको व्यवस्था रुपन्देहीमा सुदृढ बन्दै गैरहेको दावी गर्दै ढुक्क भएर आफ्नो व्यवसाय गर्न आग्रह गरेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले रुपन्देहीको शान्ति सुरक्षाको अवस्था राम्रो र नियन्त्रणमा रहेको दाबी गर्दै परिस्थितीलाई बिश्लेषण गरि जिल्लाको सुरक्षा योजना बनाइएकाले ढुक्क भएर आफ्नो व्यवसाय गर्न आग्रह गरे ।

‘बिगतमा केही कम्जोरी भए होलान् तर हाम्रो मनोबल घटेको छैन र उदाशिनपनि छैनौं’ पाण्डेले भने, ‘जेनजी आन्दोलनमा क्षतीको मुल्याङकन गर्ने हो भने अन्य जिल्लामा भन्दा कम क्षती रुपन्देहीमा भएको छ । यसर्थमा रुपन्देही प्रशासन र सुरक्षा निकायलाई धन्यवाद दिन कञ्जुस्याइ नगर्नुस् ।’ बनको बाघले नखाएपनि मनको बाघले खाने मनोदशामा नपुग्न आग्रह गर्दै उनले त्रसित नबनेर सुरक्षा निकायसँग हातेमालो गर्दै निश्चिन्त भएर व्यवसाय गर्न आग्रह गरे ।

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जेनजी आन्दोलनको वेलामा भन्सार कार्यालयका विभिन्न संरचना जलेर ध्वस्त भएर असहज परिस्थितीमापनि मुलुकमैं सवै भन्दा पहिला भैरहवा भन्सार कार्यालयले सेवा आरम्भ गरेको दावी गरे ।

खुल्ला सिमानाबाट हुने गरेको तस्करीका वारेमा व्यवसायी बिच खुलेर समिक्षा गर्न आग्रह गर्दै उनले भारतबाट भन्सार छलेर ल्याउनेमाथि भन्सार कर्मचारीले रोक्न खोज्दा जेनजीको नामबाट धम्की दिने गरेको उनले सुनाए ।

रुपन्देहीका नेपाल प्रहरी र सशस्त्र प्रहरी उपरिक्षकद्वयले जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ रहेकाले ढुक्क भइ आफ्नो व्यवसाय गर्न आग्रह गरे । नेपाल प्रहरीका प्रहरी उपरिक्षक प्रदीप क्षेत्रीले जेनजी आन्दोलनको बेलामा सुरक्षा निकायले धेरै विवेक पुर्याएका कारणले नै रुपन्देहीमा धेरै क्षती हुन नपाएको दावी गरे ।

‘सुरक्षाकर्मीले तेतीवेला बल प्रयोग भए धेरै क्षती हुने थियो’ क्षेत्रीले भने, ‘थप क्षती हुने भएपछि बल प्रयोग नगरेको सुरक्षाकर्मीलाई कम्जोरी ठान्न भएन ।’ जेनजी आन्दोलनका क्रममा रुपन्देहीमा लुटपाट र आगजनी गर्ने ९ जना बिरुद्ध मुद्धा चलाइएको उनले जनाए ।

संघका निबर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पुर्व अध्यक्ष बिष्णु प्रसाद शर्मा लगायत्ले चोरी तस्करी गर्ने व्यवसायीलाई संघले कुनैपनि हालतमा समर्थन नगर्ने भएकाले तेस्ता तस्करलाई कानुन अनुरुप कडा कारवाही गर्न सुरक्षा निकायलाई आग्रह गरेका थिए ।