September 19, 2025, Friday
२०८२ आश्विन ३ शुक्रबार

सुचारु हुन थाल्यो भैरहवा नाका, भन्सारद्वारा अत्यावश्यक वस्तुको जाँचपास सुरु

भैरहवा– जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाट लगायतका कारणले अवरुद्ध बनेको भैरहवा भन्सार नाका सुचारु हुन थालेको छ । भैरहवा भन्सार नाकाबाट शुक्रवारदेखि अत्यावश्यक सामाग्रीको साथमा अन्य औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान पनि प्राथमिकताको आधारमा छुट्न थालेका छन् ।

Advertisement

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले नेपालको आन्तरिक सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक सामानको साथमा आयात भएका अन्य सामानलाई पनि भन्सारबाट छुटाउन थालिएको बताए ।

‘विभिन्न अवरोध र समस्याका बावजुत पनि भन्सार प्रक्रियालाई सहजिकरण गर्दै भन्सार सुचारु गर्ने तयारीका साथ काम गर्न थालिएको छ’, भन्सार प्रमुख न्यौपानेले भने, ‘भन्सारबाट छुटेका सामान गन्तब्यसम्म सुरक्षित रुपमा पुग्ने गरि सम्ँबन्धित निकायहरुसँग समन्वय गरिएको छ ।’

उनका अनुसार भैरहवा भन्सार कार्यालयले भन्सारबाट छुटाउनु पर्ने प्राथमिकताका बस्तुहरुको विवरण तयार पारि त्यही अनुरुप सामान छुटाउन थालिएको हो । पेट्रोलियम पदार्थ, ग्यासका बुलेट, खाद्यान्न, औषधि र चाँडै सड्नेगल्ने फलफूल तथा तरकारी भन्सारबाट छुटाउन उच्च प्राथमिकतामा दिइएको छ ।

यस्ता अत्याबश्यक वस्तु भैरहवा नाकाबाट बिहीवार साँझदेखि नै नेपाल आउन थालेका हुन् । भन्सारबाट छुट्ने सामानहरुका गाडी चेकजाँचपछि तयारी भएपछि भन्सार कार्यालयले सुरक्षा निकायलाई जानकारी गराउने गरेको छ । ¬‘२ घण्टाभित्र भैरहवा भन्सार कार्यालयको सवै काम सुचारु हुने गरि समन्वय र व्यवस्थापन गरेका छौं’, भन्सार प्रमुख न्यौपानेले भने ।

भन्सार कार्यालयका अनुसार, शुक्रवार बिहानै ३७ वटा ग्यासको बुलेट, ४ वटा पेट्रोलिय ट्यांकर र तरकारी तथा फलफूलका गाडी छुटिसकेका छन् । विहीवार साँझ पनि ४ वटा ग्यासको बुलेट र २६ वटा फलफूल तथा तरकारीका गाडी भैरहवा भन्सारबाट छुटेका थिए ।

भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले कार्यालयको भौतिक संरचना तथा बैंकमा तोडफोड र आगजनी गरेर ध्वस्त बनाइएको भए पनि काठमाडौंमा रहेको डाटा सेन्टरको माध्यमबाट अनलाइन प्रणालीको प्रयोग गरि सेवा सुचारु गरिने बताए ।

जेनजी आन्दोलन सुरु भएपछि यही सोमवारदेखि नै भैरहवा भन्सार कार्यालयबाट सामान जाँचपास प्रक्रिया प्रभावित भएको थियो । मंगलवारदेखि पूर्ण रुपमा सेवा अवरुद्ध भएको थियो । यस अवधिमा भैरहवा नाका हुँदै नेपाल आयात गरिएका २ हजार भन्दा धेरै मालबाहक गाडी सिमा नाकामा तैनाथ छन् ।

भैरहवा भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले भन्सार सुचारु गराउनका लागि एजेन्ट संघले पनि सघाएर सहयोग गर्न थालेको बताए । ‘सवै भन्सार एजेन्टले पनि आ–आफ्नो कार्यालय खोलेका छन्’, पन्थीले भने, ‘यसका लागि भारतको सिमावर्ती सुनौली कष्टमसँग पनि समन्वय गरिएको छ ।’

पन्थीका अनुसार, नेपालका लागि आयात गरिएका करिव ५ सय मालबाहक गाडी नेपालतर्फ र १५ सय जति सिमावर्ती भारततर्फ सडक किनारामा खडा छन् । धेरै दिन सडकमै गाडी रोकिएपछि चालक–सहचालकहरुले समस्या झेलिरहेका छन् ।