आन्तरिक राजस्व भैरहवाद्वारा ११ महिनामा साढे ११ अर्ब राजस्व संकलन


भैरहवा– चालु आर्थिक वर्षको ११ महिनामा आन्तरिक राजस्व कार्यालय, भैरहवाले साढे ११ अर्ब राजस्व संकलन गरेको छ । प्रमुख कर अधिकृत प्रेमराज पोखरेलका अनुसार चालु वर्षको साउनदेखि जेठसम्म ११ महिनामा ११ अर्ब ४४ करोड ९८ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
उनका अनुसार गत आर्थिक वर्ष २०८०–८१ को तुलनामा यो वर्षको ११ महिनामा उक्त रकम २३ प्रतिशत अर्थात् २ अर्ब १४ करोड ३० लाख ८५ हजार रुपैयाँले बढी हो । आर्थिक गतिबिधिमा बृद्धि, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, बक्यौता असुलीमा तिव्रता, कर परीक्षण तथा अनुसन्धानको प्रभावकारिता, परीणाममुखी करदाता शिक्षा, नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गर्नेहरू माथिको अनुसन्धान जस्ता कारणले राजस्व सङ्कलन गत वर्षको तुलनामा वृद्धि हुन पुगेको पोखरेलले जनाए ।
उनका अनुसार कार्यालयले अहिलेसम्म वार्षिक लक्ष्यको ८६.१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । असार महिनामा लक्ष्य अनुसार राजस्व संकलनमा सफलता प्राप्त हुने अपेक्षा गरिएको कार्यालयको भनाई छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा आयकरतर्फ १ अर्ब ३४ करोड ८४ लाख ३२ हजार, अन्त:शुल्क ८ अर्ब ११ करोड २२ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर १ अर्ब ८२ करोड ५ लाख ३ हजार, ब्याजकर ७ करोड ८१ लाख ८० हजार, बहाल आयकर ५ करोड ३ लाख ७ हजार संकलन गरेको छ ।
यसैगरी स्वास्थ्य सेवाकरमा ३ करोड ५२ लाख ४० हजार, शिक्षा सेवा शुल्कबापत १८ हजार तथा अन्य शीर्षक करमा ४८ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । ‘हामीले प्रत्येक महिना शतप्रतिशत राजस्व संकलन गर्न नसके तापनि चालु आर्थिक वर्षको ११ महिना मध्ये भदौ, असोज, फागुन, बैशाख र जेठमा राजस्व विभागद्वारा तोकिए अनुसारको असुली गरेका छौं’, पोखरेलले भने, ‘अहिलेसम्म हरेक महिना कम्तिमा पनि ८० प्रतिशत भन्दा माथि राजस्व संकलन गर्न सफल भएका छौं ।’
कार्यालयले जेठ महिनामा विभागले दिएको १ अर्ब २४ करोड ४४ लाख ४२ हजार रुपैयाँ असुली लक्ष्यमा १ अर्ब ४४ करोड २३ लाख रुपैयाँ सङ्कलन गरेको छ । यो जेठ महिनाको लक्ष्यको करिब १६ प्रतिशतले बढी हो । कार्यालयको कार्यक्षेत्र रूपन्देहीको सिद्धार्थनगर, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं. १,२,३,४, ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका छन् छन् ।








प्रतिकृया दिनुहोस्