व्यवसायीलाई अनलाइन प्रणालीमा आबद्ध गराउन व्यवसाय दर्ता अभियान


परासी– अभियान सञ्चालन गरेर पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा व्यवसाय दर्ता सुरु गरिएको छ । नगरपालिकाले व्यवसायलाई अनलाइन प्रणालीमा व्यवस्थित गर्नका लागि अभियान सञ्चालन गरेको जनाएको छ । नगरपालिका राजस्व उपशाखाकी प्रमुख निर्मला प्रजापतिले घरदैलोमार्फत् सञ्चालन गरिएको अभियानमा व्यवसायको दर्तासँगै नवीकरण कार्यलाई समेत अघि बढाइएको बताइन् ।
‘व्यसायीहरु नगरपालिका आउनु पर्ने बाध्यतालाई अन्त्य गरी घरमै बसेर व्यवसायको नवीकरण र कर बुझाउनका लागि सहज बनाउन अनलाइन प्रणालीमा तथ्यांक राख्नका लागि अभियान सञ्चालन गरिएको हो । यो अभियानमा लामो समयदेखि व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुले नवीकरण नगराएका छन्’, प्रजापतिले भनिन् ।
अभियानले पाँच लाखभन्दा कम पुँजी भएका व्यवसायहरु लाभान्वित भएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा ७० ठूला उद्योगसहित तीन हजार दुई सय पसल व्यवसाय सञ्चालनमा छन् । अहिलेसम्म झन्डै एक हजार छ सय पसल, व्यवसायहरु नवीकरण र करको दायरामा आएको राजस्व उपशाखा प्रमख प्रजापतिले बताइन् । अभियानमार्फत सबै व्यवसायीहरु अनलाइन प्रणालीमा आवद्ध हुने नगरपालिकाले विश्वास लिएको छ ।
अभियानले व्यसायीहरुलाई सहज हुनुका साथै नगरपालिकाको आन्तरिक राजस्व संकलनको लक्ष्य पूरा गर्न पनि मद्दत मिल्ने लेखाअधिकृत सञ्जय शर्माले बताए । चालु आर्थिक वर्षमा नगरपालिकाले सात करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म पाँच करोड २८ लाख संकलन भएको लेखाअधिकृत शर्माले बताए । गतवर्ष छ करोड लक्ष्य लिएकोमा छ करोड ५२ लाख राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।








प्रतिकृया दिनुहोस्