August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

रूपन्देहीका नदीमा मनपरी दोहन, घाटगद्दी नगरी गिटी–बालुवा क्रसरमा

Advertisement

भैरहवा– रुपन्देहीका नदीहरुमा ठेकेदारले मनपरी होदन गरिरहेका छन् । तर, नियामक निकाय भने चुपचाप छन् । अहिले जिल्लाका पालिकाहरुले नदी उत्खननका लागि ठेक्का लगाएर ठेकेदार गिटी–बालुवा उत्खनन गरिरहेका छन् । ठेकेदार दर्जनौं मेसिन प्रयोग गरेर मनपरी उत्खनन गर्ने र घाटगद्दी नगरी गिटी–बालुवा सिधैं क्रसरमा लैजाने गरेका छन् । तर, यसको नियमनका लागि जिल्ला र पालिकास्तरीय अनुगमन समिति चुपचाप छन् । स्थानीयले पालिका र प्रशासनकै मिलेमतोमा नदी दोहन भइरहेको बताएका छन् ।

Advertisement

तिलोत्तमा–१४ का एक स्थानीय भन्छन्– ‘मनपरी नदी दोहनकै कारण हाम्रो चापकलमा पानी आउँदैन । पालिकाले नियमनको साटो उल्टै ठेकेदारको संरक्षण गरिरहेको छ ।’ जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, मायादेवी, सियारी, शुद्धोधन र गैडहवा गाउँपालिका क्षेत्रमा अहिले नदी उत्खनन् भइरहेको छ । तिनाउ, दानव, रोहिणी लगायतका खोलामा ठेकेदार नदीबाट गिटी–बालुवा झिकेर सिधै क्रसरमा लगिरहेका छन् । अझ लुम्बिनी विकास कोष, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल–गोरुसिंगे सडक र गौतमबुद्ध विमानस्थल जस्ता ठूला आयोजनाका नाममा भएको उत्खनन्मा झनै लापरबाही छ ।

ठेकेदार कम्पनीले सम्झौंता बमोजिम खोला उत्खनन गरेर घाटगद्दीमा गिटी–बालुवा नथुपारेर सिधैं क्रसर उद्योगमा पुर्याएपछि पालिका र प्रशासनले संरक्षण गरेको भन्दै स्थानीय आलोचना गरिरहेका छन् । अहिले तिलोत्तमाको बागदुरामा सबैभन्दा बद्मासी छ । त्यहाँ ठेकेदारले दजनौं मेसिन लगाएर उत्खनन गरेको नदीजन्य पदार्थ सिधैं क्रसरमा लैजाने गरेका छन् । तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नियमन गरिरहेको जनाए । ‘बद्मासी गर्नेलाई कारबाही गर्छौं’, उनले भने, ‘केही गुनासा आएका छन् । अनुगमन पनि गरिरहेका छौं ।’

अहिले तिनाउ र दानवका संवेदनशील संरचनाका आसपास नै उत्खनन भइरहेको छ । सुद्धोधन–६, स्थित नागेश्वर घाटमा गरिएको उत्खननकाकारण पक्कि पुल जोखिममा परेको छ । उक्त पुलले पालिकाको ६ र १ नम्बर वडालाई जोडेको छ । पुल सञ्चालनमा नआउँदैं उत्खननका कारण जोखिममा परेको स्थानीय जीतबहादुर रानाले बताए । पालिका अन्तगर्त सिमरा, पनौंता, कोलुवा, गुरौंली, धनौंरा, मधुवनी, बोहरवा र बेलवा घाटमा उत्खननका लागि ठेक्का लगाइएको छ । यीमध्ये सिकौरा र धनांैंरा घाटबाट आयोजना लागि भन्दैं गिटी–बालुवा उत्खनन भइरहेको छ । कटान रोकथाम नगरी भइरहेको उत्खननले बस्तीनै जोखिममा परेको रानाले बताए ।

खोला र नदी आसपासका स्थानीय बासिन्दाले कागजमा मात्र अनुगमन हुने गरेको गुनासो गरे । उनीहरुका अनुसार स्थानीय तहले खोलामाथि भइरहेको ज्यादतीलाई बेवास्ता गर्ने गरेका छन् । स्थानीय तह सञ्चालनपछि खोला उत्खननका लागि ठेक्कामा लगाउने र अनुगमन गर्ने जिम्मेवारी पालिकासित छ । जिल्लाका धेरै स्थानीय तहको राजश्व आम्दानीको स्रोत नदीजन्य पदार्थ हुन् । ठेकेदारले भने मौंकाको फाइदा उठाउँदैं वातावरणीय प्रभाव मूल्यांकन गरेको क्षेत्रभन्दा बाहिर पनि उत्खनन गर्ने गरेका छन् । पालिकाले ठेक्का सकार्ने पक्षसित उत्खननका लागि विभिन्न बुँदामा सम्झौंता गर्दै आएका छन् । सम्झौंता अनुसार पालिकाको रोहबरमा उत्खनन स्थलको चारैतर्फ सिमांकन गरेर त्यही क्षेत्रबाट मात्र उत्खनन गर्नुपर्ने शर्त राखिएको हुन्छ । यसरी उत्खनन गरिएका नदीजन्य पदार्थ तोकिएको स्थानमा मात्र घाटगद्दी गर्नुपर्ने प्रावधान छ ।

जिल्ला प्रशासन कार्यालयले ठेकेदारले खोलाबाट गिटीबालुवा झिकेपछि भण्डारण गरेको स्थानमा कति सामाग्री मौज्दात छ भनेर प्रमाणित गराएपछि मात्रै कारोबार गर्न सक्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले अनुगमनलाई प्रभावकारी बनाउने बताए ।

जिल्लाका नागरिक अगुवाका अनुसार ठेकेदार समुहले पालिकासित गरेका सम्झौंता र नियम–कानुनको खिल्ली उडाएर घाटगद्दी नगरी नदीजन्य सामाग्री क्रसरमा पुर्याउने गरका छन् । ‘उत्खनन र घाटगद्दीको अनुगमन गर्ने जिम्मेवारी पाएका पालिकाले नै नियमनमा आँखा चिम्लिने गरेका छन,’ सियारी–३, का एक बासिन्दाले भने, ‘पालिकाले नियोजित रुपमा वर्षा सुरु हुने बेला र आर्थिक वर्ष सकिने बेलामा ठेक्का लगाएका हुन् । यसको उद्देश्य नदी जन्य पदार्थमा गोलमाल गर्ने नै हो ।’ उनका अनुसार ठेकेदारले खोला उत्खनन गरेर जम्मा भएको गिटी–बालुवा तिनाउ किनारमा रहेका क्रसर उद्योगमा पुर्याइरहेका छन् । मनपरी उत्खननले एकातिर जलचर जीवजन्तु नष्ट भएका छन् भने तिनाउ, दानव र रोहिणीले बर्सेनि स्थानीयको खेतबारी कटान गरिरहेको छ ।