नेपालगन्ज भन्सारबाट निर्यात बृद्धि


बाँके– बाँकेको नेपालगन्ज भन्सार कार्यालयबाट निर्यात बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनामा ३० प्रतिशत निर्यात व्यापार बढेको हो । भन्सार कार्यालयका अनुसार चालु आवको १० महिनामा २ अर्ब ५८ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधी भन्दा ३०.२९ प्रतिशतले बढी हो ।
भन्सारका अनुसार गत आर्थिक वर्ष २०८०–०८१ को वैशाखसम्म १ अर्ब ९८ करोड १९ लाख ८७ हजारको वस्तु निर्यात भएको थियो । गत आर्थिक वर्ष भन्दा यसवर्षको १० महिनामा ६० करोड ४ लाख २८ हजारको वस्तु बढी निर्यात भएको कार्यालयले जनाएको छ । यस्तै चालु आर्थिक वर्षमा सो नाकाबाट आठ प्रतिशत भन्दा बढी आयातसमेत बढेको छ । गत आर्थिक वर्ष २०८०–०८१ को १० महिनामा ५८ अर्ब ३८ करोड ८६ लाख रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधीमा ६३ अर्ब २८ करोड ५ लाख रुपैयाँको आयात भएको छ ।
यो गत आर्थिक वर्षको भन्दा ४ अर्ब ८९ करोड १९ लाखले बढी हो । वैशाखसम्म नेपालगन्ज नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधीमा १० अर्ब ९६ करोड ९१ लाखको डिजेल, ३ अर्ब ९६ करोड ४५ लाख रुपैयाँको पेट्रोल र ४ अर्ब ४४ करोड मूल्यको एलपी ग्यास आयात भएको छ । सो अवधिमा ५ अर्ब १२ करोड बराबरको चामल, २ अर्ब ४५ करोड बराबरको शुद्ध फलाम आयात भएको कार्यालयको तथ्यांक छ ।
त्यस्तै उक्त नाकाबाट सबैभन्दा बढी निर्यात भएका वस्तुमा जडिबुटी, खोटो रोजिन, खयर कत्था, प्लाइउड, तार्पेनको तेललगायतका वस्तुहरु छन् । कार्यालयका अनुसार १० महिनामा लक्ष्यको ६०.५७ प्रतिशत मात्रै भन्सार राजस्व संकलन भएको छ । वार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार निर्धारण भएकोमा वैशाख मसान्तसम्म १६ अर्ब ४६ करोड २४ हजार असुली भएको छ । लक्ष्य अनुसार राजस्व संकलन कम भएपनि गत वर्षको सोही अवधी भन्दा बढी भएको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षको वैशाखसम्म १४ अर्ब ६८ करोड २२ लाख ९० हजार मात्रै असुल गरेको थियो । गत आ.व. २०८०–०८१ मा नेपालगन्ज भन्सारले लक्ष्यको ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो । कुल २८ अर्ब ६६ करोड २५ लाख २९ हजार रूपैयाँ लक्ष्य निर्धारण गरिएकोमा गत वर्ष १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रूपैयाँ राजस्व संकलन भएको थियो ।








प्रतिकृया दिनुहोस्