९० व्यवसायिक फर्मको एक अर्ब कर बक्यौता, दाखिला गर्न आन्तरिक राजस्वको ताकेता


भैरहवा– समयमै कर नतिरी बक्यौता रहेका फर्महरुलाई कर तिर्न आन्तरिक राजस्व कार्यालय, भैरहवाले ताकेता गरेको छ । कार्यालयले मातहतका कर बक्यौत रहेका फर्महरुलाई १५ दिनको सार्वजनिक सूचना जारी गरेर कर दाखिला गर्न ताकेता गरेको हो । यदि १५ दिन भित्र कर नतिरे कारबाही गर्ने राजस्व कार्यालयको चेतावनी छ । प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले व्यवसायिक फर्मबाट कारोबार गर्ने तर समयमै मूल्य अभिबृद्धि कर, आयकर र अन्तःशुल्क बुझाउन बाँकी रहेका करदातालाई १५ दिनको समयावधि दिइएको जनाए ।
‘यदि तोकिएको समयमा कर बक्यौता दाखिला नगरे आयकर ऐन, २०५८ को परिच्छेद २०, मूअकर ऐन, २०५२ को दफा २१, अन्तःशुल्क ऐन, २०५८ को दफा १० ज तथा दफा २२ बमोजिम कारवाही गर्ने छौं’, उनले भने । उनका अनुसार कर बक्यौत तिर्न बाँकी रहेका ९० व्यवसायिक फर्मको नामसहित सार्वजनिक सूचना जारी गरिएको छ । यी व्यवसायिक फर्महरुको बाँकी बक्यौता करिब एक अर्ब रुपैयाँ छ ।
‘बक्यौता कर नतिरेका करदाताको सुरुमा बैंक खाता रोक्का गर्छौं, त्यसपछि सम्पत्ति रोक्का राख्छौं । यसपछि आयात–निर्यातमा पनि रोक लगाउँछौं’, प्रमुख कर अधिकृत पोख्रेलले भने, ‘यति गर्दा पनि कर बक्यौता नतिरे सम्पत्ति लिलाम गरेर कर असुली गर्छौं ।’ उनले कारोबार गरिसकेपछि राज्यलाई तिर्नुपर्ने करमा बेवास्ता नगर्न आग्रह गरे ।
कर बक्यौता रहेका फर्महरुमा रुपन्देही र पश्चिम नवलपरासीका पालिकाहरुमा व्यवसायिक फर्म दर्ता गरी कारोबार गरेका प्रतिष्ठान छन् । आन्तरिक राजस्व कार्यालयका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, देवदह, र तिलोत्तमा नगरपालिका, रोहिणी, ओमसतिया, मायादेवी, गैडहवा गाउँपालिका व्यवसायिक फर्महरुको कर बक्यौत छ । यस्तै, पश्चिम नवलपरासीको रामग्राम, सुनवल र बर्दघाट नगरपालिका तथा प्रतापुर र सरावल गाउँपालिका फर्मको पनि बक्यौता रहेको पोख्रेलले जनाए ।
पोख्रेलका अनुसार समयमै कर नतिर्नेमा स–साना करदातादेखि ठूला औद्योगिक घरना समेत छन् । कार्यालयको तथ्यांक अनुसार एउटै व्यवसायिक फर्मको १० लाखदेखि १० करोड रुपैयाँसम्म कर तिर्न बाँकी छ ।
बक्यौता रहेका फर्महरु केही राजस्व कार्यालयको सम्पर्कमा रहे पनि केही भने सम्पर्कमै छैनन् । सम्पर्कबिहीन बनेका व्यवसायीहरुको फर्ममा पुग्दा धेरैले व्यवसाय बन्द गरेर पलायन भएको समेत पाइएको छ । कर असुलीको चापमा रहेका बेला करोडौं रुपैयाँ कर बक्यौता असुल्न बाँकी रहे पछि राजस्व कार्यालयले दवावमा परेको छ । जसले गर्दा सम्पत्ति लिलामै गरेरै भए पनि बक्यौता उठाउने प्रयासमा कार्यालय देखिन्छ ।
कर बक्यौता नतिर्नेम निर्माण व्यवसायी, ठूला उद्योगी, किराना पसलदेखि औषधिको सप्लार्यसम्म छन् । राजस्वले बैशाख २४ गते नाम किटानै गरेर सूचना जारी गरी कर बक्यौता तिर्न भनेको थियो । तोकिएको समयावधि सकिनै लाग्दा केही फर्म संचालक सम्पर्कमा आए पनि केही भने अझै सम्पर्कमै नरेहेको कार्यालय जनाएको छ ।








प्रतिकृया दिनुहोस्