पश्चिम नेपालका सहरमा ‘घुमौं सौराहा चितवन’ अभियान, लुम्बिनी र सौराहा घुम्न आह्वान


भैरहवा– पर्यटन क्षेत्र कसरी चलायमान बनाउने भन्ने बारे व्यवसायीले अनेक जुक्ति निकालीरहेका छन् । मुलुकका हरेकजसो पर्यटकीय क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले कुनै न कुनै अभियानमार्फत् बाह्य मात्रै होइन् आन्तरिक पर्यटक भित्र्याउने उपाय खोजिरहेका छन् । यसैमध्ये चितवनको सौराहाका पर्यटन व्यवसायीले भने घुमौं सौराहा चिवन अभियान मार्फत् सौराहामा आन्तरिक पर्यटक भित्र्याउन अभियान नै चलाएका छन् ।
प्रकृतिको बरदान मानिन्छ चिवनको सौराहा । यही सौराहाको प्रबद्र्धन गरी धेरै भन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यसहित यतिबेला चितवनका पर्यटन व्यवसायी पश्चिम नेपालमा ‘घुमौं सौराहा चिवन अभियान’मा छन् । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ नेपाल चितवनमार्फत् पश्चिम नेपालका जिल्ला–जिल्ला पुगेर व्यवसायीले घुम्न आह्वान गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने मुख्य पर्यटकीय प्रवेशद्वारको रुपमा समेत चिनिन्छ । राप्ती नदी र य निकुञ्ज नजिकै अवस्थित सौराहाको ५० वर्षको इतिहास छ ।
‘थरिथरिका स्वाद, मनोरम दृश्य, वन्यजन्तुको दृश्यावलोकनले सौराहा पुग्न धेरैलाई लालायित गराउँछ । नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा परिचित चितवन जलचरदेखि थलचरसम्म हेर्न पाइने प्रमुख स्थल हो’, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले भैरहवामा आयोजित कार्यक्रममा भने, ‘यसैले एकपटक घुमौं सौराहा र चितवन ।’
नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहालाई ब्रान्डिङ गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले यस्तो अभियान सुरु गरिएको पाण्डेले बताए । यसले दुवै प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको उनको भनाइ छ । ‘सौराहामा हात्ती चढेर गैंडा अवलोकन गर्न पाइने भएकाले नेपाल भित्रिएका अधिकांश विदेशी पर्यटकको उत्कृष्ट गन्तव्य सौराहा भएको छ,’ पाण्डेले भने, ‘कोरोनाकालपछि स्वदेशी पर्यटकको संख्यामा कमी आएको छ । पर्यटन उद्योगलाई जीवित राख्न हामीले स्वदेशी पर्यटकको साथ खोजेका छौं ।’
मुलुकको पश्चिम नेपालका बासिन्दालाई लक्षित गरेर एकसाता लामो ‘घुमौं सौराहा चितवन अभियान सञ्चालन गरिरहेको र अहिलेसम्म बर्दियाको ठाकुरद्वारा, बाँकेको नेपालगन्ज र कर्णाली प्रदेशको सुर्खेतस्थित बीरेन्द्रनगर पुगेर सौराहा घुम्न आह्वान गरिसकेका संघका महासचिव महेश खनालले बताए । उनले भैरहवाबाट रुपन्देहीबासीलाई सौराहा घुम्न निम्ता दिए । रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य बविता चौधरीले नगरपालिका र व्यवसायी सँगसँगै पर्यटन प्रबद्र्धन अघि बढेको बताइन् । धेरैभन्दा धेरै पर्यटक चितवनका भित्र्याउने आफूहरुको लक्ष्य रहेको जनाउँदै स्थानीय सरकार सधै व्यवसायीको साथमा रहेको जनाइन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चपाईं, सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चनन्द्रबहादुर थापाले लुम्बिनी र बागमती प्रदेशका पर्यटकीय गन्तव्य जोडेर अघि बढ्नुपर्नेमा जोड दिए । दुवै प्रदेश पर्यटकीय हिसावले मुलुककै प्रमुख गन्तव्य भएकाले सहकार्य गरेर अघि बढे फाइदा लिन सकिने उनीहरुको जोड छ । यस्तै, भारतीय पर्यटकलाई समेत केन्द्रमा राखेर अभियान चलाउनुपर्नेमा उनीहरु एक मत रहे ।
व्यवसायीको तथ्यांकअनुसार सौराहासहित चितवनमा वार्षिक ४ लाख पर्यटक आउने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो वर्षहरुमा वार्षिक ११ लाख बढी पर्यटक आउँछन् । लुम्बिनी आएका पर्यटकलाई चितवन र चितवन आएका पर्यटकलाई लुम्बिनी ल्याउन सके थप फाइदा उठाउन सकिनेमा दुबै ठाउँका व्यवसायी एक मत छन् । पर्यटक आकर्षित गर्न देशव्यापी रुपमा २०७७ पुसदेखि सुरु ‘घुमौं सौराहा चितवन’ अभियानलाई निरन्तरता दिँदै यसवर्ष पश्चिम नेपालका प्रमुख सहरमा भ्रमणका लागि व्यवसायीहरु आएका हुन् ।
चितवनमा २५० वटा होटल र एक सय रेष्टुरेन्ट छन् । सौराहामा जिल्लाभित्र रहेका यी होटलहरुम १५ हजार वेड क्षमता छ । निकुन्ज भित्र र मध्यवर्ती क्षेत्रमा गरि दुई सय वटा जिप सफारी संचालनमा छन् । चितवनमा निजि ६० वटा र सरकारी ५६ वटा हात्ती छन् । निजि हात्तीले पर्यटकलाई सफारी गराउँछन् भने सरकारी हात्ती वन्यजन्तु संरक्षणमा प्रयोग गरिन्छ । घुमौं सौराहा अभियान मार्फत् चितवन भित्रिने पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य व्यवसायी र स्थानीय पालिकाको छ ।








प्रतिकृया दिनुहोस्