पाल्पाली ढाकाको ख्याती फैलिँदै

भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्लाका आ–आफ्नै पहिचान छन् । ती जिल्लालाई चिनाउने खानपिनदेखि लगाउने विभिन्न वस्तु छन् । त्यस्ता वस्तुको नाम लिने वित्तिकैं सर्वसाधरणले उक्त जिल्ला सम्झना गरिहाल्छन् । पछिल्लो समय रैथाने खान र पहिरनको उपयोग बढेपछि यस्ता बस्तुको ख्याली झन फैलिने क्रममा छ ।
प्रदेशका सबै जिल्लाका नागरिकले आफ्नो जिल्लालाई कुनै न कुनै रुपमा पहिचान बनाउने गरी काम गरेको पाइन्छ । अहिले लुम्बिनी प्रदेशका जिल्लाले यस्ता बस्तुलाई कोशेलीका रुपमा प्रचार गरिरहेका छन् । रुपन्देहीको छिमेकी पाल्पा पुग्दा कोशेलीका रुपका ढाकामा कपडा लैजान्छन् । यस्तै मध्येका एक हुन मोरङको बिराटनगरबाट आएका देवराज भण्डारी पौड्याल । पाल्पा सदरमुकाम तानसेन घुम्ने क्रममा उनले ढाका कपडाको शोरुममा टोपी रोज्दै भने, ‘हाम्रातिर पनि ढाका उत्पादन हुन्छ तर पाल्पाली ढाका लैजान मनपर्छ ।’
हुन त कुन्ती मोक्तानको, ‘चोली राम्रो पाल्पाली ढाकाको…’ जति चर्चित छ, त्यति नै ढाका कपडा भनेपछि बिराटनगरका भण्डारी मात्र होइन, देश विदेशमा बस्नेहरुको जनजिब्रोमा झुण्डिएको छ । पाल्पा आउने जो कोही पहिलो कोशली ढाका र यसबाट निर्मित सामाग्री खरिद गर्छन् । २०१५ सालमा सुरु भएको ढाका कपडा र यसका विविधिकरणले देश र विदेशमा ख्याती कमाएको छ । भ्रमणमा आउने हुन् वा व्यक्तिगत भेटघाटमा आउनेले फर्किंदा उपहारका रुपमा ढाका र यसका विविध सामग्री खरिद गरेर लग्ने प्रचलन बढेको ढाका उद्यमी मनोजराज शर्मा पौड्यालले बताए ।
पहिले ढाकाको व्यापार गर्न दशैं तिहार पर्खिनु पर्दथ्यो । तर पछिल्लो समय ढाकाको व्यापार जुनसुकै सिजनमा पनि हुन्छ । नेपालीको शीरको सानको रुपमा ढाका टोपी लिइन्छ । ढाका कपडा उद्योगकी संस्थापक ८७ वर्षीय पूर्णमाया महर्जनका अनुसार ढाका टोपी लगाउने प्रचलन पञ्चायतकालमा अझ बढी थियो । पाल्पाली ढाका उत्पादनमा नयाँ पुस्ताको चासो बढेको छ । बजारमा पाल्पाली भनेर अन्यत्रका ढाका बिक्री हुँदा भने यहाँ उत्पादन हुने ढाकालाई असर गरेको छ ।
ढाकाबाट उत्पादित टोपी, पछ्यौरा, रुमाल, पर्स, स्टकोट, झोला, टाईलगायत विविधिकरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अहिले १ हजार जतिले मात्र रोजगारी पाएका छन् । पाल्पामा १५ बढी ढाका उद्योग छन् । घरघरमै ढाका बुनेर २ सय बढी महिलाले राम्रो आम्दानी गर्छन् । पाल्पाली ढाकाको वार्षिक कम्तीमा १० करोडको व्यापार हुने पाल्पाली ढाका संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्