भैरहवा भन्सारद्वारा ७ महिनामा ५३ अर्ब १७ करोड राजस्व संकलन


भैरहवा– भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि माघसम्मको सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६.७७ प्रतिशत बढी हो ।
भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार गत वर्षको यही अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, चालु वर्षको ७ महिनामा वार्षिक लक्ष्यको ४८.६४ प्रतिशत राजस्व असुली भएको छ भने मासिक लक्ष्य पनि औसतमा ८५ प्रतिशतमाथि छ ।
कार्यालयले चालु वर्षमा एक खर्ब नौ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । भन्सारका अनुसार यस नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जिप, कार र भ्यान, पेट्रोल, मोबाइल, एमएस विलेट, टायल, डिजेल, मार्बल स्ल्याव, एलपी ग्याँस छन् ।
चालु वर्षको सात महिनामा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट १० अर्ब पाँच करोड असुली भएको छ । त्यस्तै, इन्धनबाट चल्ने जीप, कार र भ्यानहरुबाट ५ अर्ब ७५ करोड रुपैयाँ, पेट्रोलबाट दुई अर्ब १५ करोड, विद्युतीय जीप, कार र भ्यानबाट एक अर्ब ३४ करोड, शुद्ध फलामबाट एक अर्ब ९५ करोड, इन्धनबाट चल्ने डबल पिकअप गाडीबाट एक अर्ब १७ करोड, सेलफोनबाट एक अर्ब ३ करोड, चकलेटबाट एक अर्ब ५२ लाख, एम.एस. विलेटबाट ८१ करोड ९२ लाख तथा टायलबाट ८१ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख रेग्मीले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्