May 12, 2025, Monday
२०८२ बैशाख २९

भैरहवामा खुल्यो इनोभेटिभ इको कृषि कम्पनी, चुक्ता पुँजी ११ करोड बढी

भैरहवा– एकैथलोमा कृषिका उत्पादनहरु विक्री गर्ने, किसानलाई प्रविधिसँग जोडी प्रोत्साहन गर्ने र मुलुकमा उत्पादिन उत्पादनको बजारीकरण गर्ने उद्देश्यसहित रुपन्देहीको भैरहवामा निजी क्षेत्रबाट इनोभेटिभ इको कृषि कम्पनी लिमिटेड संचालनमा ल्याइएको छ । सिद्धार्थनगर नगरपालिका–१३, हाटबजारमा केन्द्रिय कार्यालय रहेको कम्पनीले शुक्रबारदेखि कृषि उत्पादनको विक्री तथा बजारीकरण सुरु गरेको छ ।

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रेमनारायण पाठकले यहाँबाट मुलुक भित्र उत्पादित कृषिउपजहरुको प्रबद्र्धन गरी बाह्य मुलुकसमेत निर्यात गरिने जनाए । प्रस्तावित पब्लिक कम्पनीका रुपमा रहेको उक्त संस्थाले खासगरी नेपालमा मूल्य नपाएका कृषिउपजहरुको बजारीकरण गरी बाह्य मुलुक निर्यात गर्न ट्रेडिङको काम गर्ने छ ।

यस्तै, किसानलाई आधुनिक कृषि औजारको प्रयोग र प्रविधिसँग जोड्न सहयोग गर्नेछ । कृषि औजार र मेसिनरी सामान समेत कम्पनीले विक्री गर्ने पाठकले बताए । ‘कृषि क्षेत्रमा नव अवधारणको योजनासहित काम गर्ने लक्ष्य राखिएको छ । कृषि टे«डिङको काम गर्न, नेपालमा मूल्य नपाएका उपज खरिद गरी विदेश पठाउन, कृषि यान्त्रिकरण खरिद र विक्रीमा काम गर्ने हाम्रो लक्ष्य हो’, उनले भने ।

कम्पनीले भविष्यमा आफ्नै फार्मबाट कृषि उत्पादन गर्ने जनाएको छ । ‘ठाउँ–ठाउँमा हामीले कृषि फार्महरु खोल्छौं, त्यहाँ हजारौ किसानलाई जोड्छौं’, उनले भने, ‘यससँगै मुलुकका जुनसुकै ठाउँमा पनि किसानले उत्पादन गरेका वस्तु खरिद गरी विश्वबजारसम्म पुर्याउँछौं ।’ खासगरी मुलुकका उत्पादनको आधुनिकीकरण गरी प्रबद्र्धन गर्ने र कृषि क्षेत्रलाई पर्यटनसँग जोडेर आमकृषकलाई उत्पादनसँग जोड्ने योजना बनाइएको उनले जनाए ।

‘कृषि शिक्षा, टेक्नोलोजी, प्रविधि र दक्ष जनशक्ति लगायतका क्षेत्रमा शैक्षिक जागरण फैलाउन अनुसन्धानात्मक ढंगबाट समेत काम गरिने छ’, उनले भने, ‘यसले किसानलाई नयाँ प्रविधिसँग जोड्ने छ । जसले गर्दा उत्पादन लागत घटेर मुनाफा बढी हुनेछ ।’ उनले नेपालमा कृषि उत्पादनले बजार नपाइरहेको अवस्था आफूहरुको सहयोगले बजारीकरण हुने जनाए ।

उनले मुलुकमा यस्ता कम्पनी धेरै खुलेका भए पनि आफूहरुले फरक ढंगले कृषि क्षेत्रमा काम गरी अगाडि बढ्ने उद्देश्य लिएको बताए । कम्पनीको र्काक्षेत्र नेपालभरी छ । ‘नेपालका कृषि क्षेत्रको रुपान्तरण जरुरी छ । यसैले हामीले केही काम गरेर सन्देश दिन चाहेका छौं’, उनले भने, ‘कृषि उत्पादन घटिरहेको छ । यस्तो अवस्थामा उत्पादित कृषिउपजले पनि बजार नपाउने गरेको छ । यसलाई हामी चिर्न चाहन्छौं ।’

उनका अनुसार कम्पनीको चुक्ता पुँजी ११ करोड ६२ लाख छ । यस्तै, अधिकृत पुँजी २० करोड छ । विभिन्न उद्योगी, व्यवसायी र बैंकिङ क्षेत्रमा अब्बल कहलिएका व्यक्तिसहित २१६ जना कम्पनीमा शेयर सदस्य छन् । यस्तै, रिलाइयबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सहकार्य गरेको छ । जसले गर्दा कम्पनीलाई र कृषकलाई थप सुरक्षित तुल्याएको उनले बताए ।