August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

बुटवलका मियाँविरुद्ध राजस्व छलीको आरोपमा मुद्दा दायर

Advertisement

भैरहवा– राजस्व छलीको आरोपमा बुटवलको अलिम इन्टरप्राइजेजका संचालक अलिम मियाँविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, नेपालगंजरोडमा रहेको अलिम इन्टरप्राइजेजका संचालक मियाँविरुद्ध राजस्व अनुसन्धान कार्यालय, बुटवल मुद्दा दायर गरेको हो ।

Advertisement

राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्ती अनुसार प्रतिवादी मियाँले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण, ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दर्ता गरिएको जनाइएको छ । विभागले मियाँविरुद्ध उच्च अदालत बुटवल इजालसमा मुद्दा दर्ता गरेको जनाएको छ ।

मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम तीन करोड ४३ लाख ३९ हजार ४३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना मागदाबी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

सोही ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम प्रतिवादीलाई हदैसम्मको कैद सजाय समेत मागदाबी गरी अदालतमा अभियोग दायर भएको छ । विभागले इन्टरप्राइजेजका संचालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर, बिलविजक जारी नगरी मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेको आरोप छ ।