June 12, 2025, Thursday
२०८२ जेष्ठ २९ बिहीबार

परासीबाट सवारी लाइसेन्स बितरण भएपछि सेवाग्राहीलाई सहज

परासी– पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीबाट सवारी चालक अनुमतिपत्र बितरण सुरु गर्न थालिएपछि पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्लाका वासिन्दालाई सेवा लिन धेरै सहज भएको छ ।

Advertisement

यस अघि यस क्षेत्रका वासिन्दालाई सवारी चालक अनुमतिपत्र लिन तथा नविकरण गर्न बुटवलको बेलवास नै पुग्नु पर्ने बाध्यता थियो । बुटवलको बेलबासबाटमात्र सवारी चालक अनुमतिपत्र प्रदान र नविकरण गर्नुपर्दा अत्याधिक चापका कारण सेवाग्राहीले धेरै सास्ती खेप्दै आएका थिए ।

सवारी चालक अनुमतिपत्र लिन र नविकरणका लागि सेवाग्राहीले धेरै दिनसम्म भिडमा ठेलमठेल गर्नु पर्ने, यातायात कार्यालयका कर्मचारीलाई ज्युहजुरी गर्दै खुशी बनाउनु पर्ने वा अतिरिक्त रकम समेत उपलब्ध गराउनु पर्ने अवस्था सेवाग्राहीलाई थियो ।

पश्चिम नवलपरासीको परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले चालक अनुमति पत्र वितरणको सुरुआत गरेका हुन् ।

२०७८ सालमा स्थापना भएको यस यातायात सेवा कार्यालयबाट यसअघि दुईपांग्रे सवारीसाधनको सवारी अनुमति पत्र जारी र नवीकरण हुँदै आएको थियो । जिल्लामा नै चालक अनुमति पत्र वितरण सुरु भएपछि रुपन्देही जानुपर्ने बाध्यता हटेको छ ।

परासीमा रहेको यातायात कार्यालयबाट अहिलेसम्म ७ हजार दुईपांग्रे सवारी अनुमति चालक वितरण गरेको कार्यालय प्रमुख श्याम न्यौपानेले बताए । चालु आर्थिक वर्षको पुस महिनासम्म ९ करोड राजस्व संकलन भएको छ ।

बुटवलको बेलवासस्थित यातायात कार्यालयमा भिड भउको अवस्थामा सेवाग्राहीलाई परासी जान बिकल्प उपलब्ध भएको छ । परासीबाट सवारी लाइसेन्स जारी गर्न थालिएपछि बुटवलमा हुने गरेको सेवाग्राहीको चापमापनि स्वतः कमी आउने छ ।