गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू

भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान–अवतरणका लागि आरएनपी–एआर प्रणाली लागू भएको छ । विमानस्थलमा आइएलएस प्रणाली जडान भए पनि भारतले अनुमति नदिँदा प्रयोगमा छैन । जसले गर्दा दिउँदमा बाक्लो हुस्सुले जहाज उडान–अवतरणमा समस्या हुँदै आएको छ । कयौंपटक अन्तर्राष्ट्रिय उडानहरु डाइभर्ट भएका छन् । यसको विकल्पमा नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
‘विश्वका धेरै देशका विमानस्थलहरुमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू–उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान–अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) प्रविधि प्रयोगमा ल्याइएको हो’, उनले भने ।
उनका अनुसार आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध विमानस्थलमा न्यूनतम ९ सय मिटरको भिजिबिलिटीमा पनि जहाजहरु सहजरुपमा उडान–अवतरण हुनसक्ने छन् । भूउपग्रहमा आधारित रहेका यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने विश्वास गरिएको छ । ‘अहिले विमानस्थलमा यान्त्रिक प्रविधिमार्फत् जहाज उडान–अवतरण हुँदै आएका छन् । यसमा कम्तिम १ हजार ८ सय मिटर भिजिविलिट आवश्यक छ’, उनले भने, ‘अब, त्यो आधा घट्नेछ ।’
विमानस्थलमा नयाँ विधि लागू गरिए पनि बिहीबारबाटै कार्यान्वयनमा भने आउने छैन । यसका लागि वायुयान, पाइलटदेखि एटिसीका कर्मचारीसम्मले निश्चित रिक्वायर्डमेन्ट पूरा गरी तालिम लिनुपर्र्ने हुन्छ । यो विधिबाट उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवाले आफ्नो देशको नियामक निकायबाट अनुमति लिएको हुनुपर्छ । र, नेपालको नियामक निकायबाट पनि प्रमाणीकरण गरेको हुनुपर्छ ।
गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू भएसँगै इच्छुक वायुसेवा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर उडान गर्न सक्नेछन् । अहिले फ्लाई दुबईले भैरहवामा आरएनपी–एआर विधि प्रयोगको अनुमति माग्दै आवेदन पेस गरेको छ । भैरहवामा उडान गर्न इच्छुक र विगतमा उडान गरेका जहाजमा पनि यो प्रविधि भएकाले केही सहजता हुने तिवारीले बताए ।
विमानस्थलका अनुसार आरएनपी–एआर प्रणालीका लागि जमिनमा कुनै भौतिक पूर्वाधार बनाउनुपर्दैन । आवश्यक पूर्वाधार जहाजमा नै हुन्छन् । अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाजमा भू–उपग्रहमा आधारित सिस्टम अनबोर्ड नै हुने विज्ञ बताउँछन् । आन्तरिक उडान गर्ने साना जहाजमा भने त्यो सिस्टम जडान गर्नुपर्ने बताइन्छ । ‘आरएनपी–एआर विधिबाट जहाज अवतरण गर्ने पाइलटले विशेष तालिम लिएर प्रमाणीकरण गर्नुपर्छ । वायुसेवा कम्पनीले आफ्नो देशको नियामक निकायबाट आरएनपी–एआर विधि प्रयोगका लागि अनुमति लिनुपर्ने हुन्छ । सम्पूर्ण प्रक्रिया पूरा गरेपछि नेपालको नियामक क्यानले आरएनपी–एआर प्रयोगको अनुमति दिन्छ’, उनले भने । हाल विमानस्थलबाट काठमाडौं ट्रान्जिट बनाएर फ्लाई दुबई र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्