August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

बुटवलबाट राजश्व छलिको ३१ लाख मूल्यको इलेक्ट्रिक चुरोटसहितको ट्रक पक्राउ

Advertisement

भैरहवा– राजश्व छलेर काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको लुप ३००१ ख ०११४ नम्बरको गाडीबाट ३१ लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय, बुटवलले बरामद गरेको छ ।

Advertisement

उक्त चुरोट नेपालगन्ज हुँदै भारत लैजाने उद्देश्यले तस्करहरूले ट्रान्सपोर्टको गाडी प्रयोग गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । गाडीसहित दुई जनालाई राजस्व अनुसन्धान कार्यालयले पक्राउ गरी अनुशन्धानका लागि थुनामा राखेको छ ।

भेरी ट्रान्सपोर्टको उक्त गाडी बुटवल हुँदै नेपालगञ्ज लैजाँदै गरेको अवस्थामा बुटवलबाट नियन्त्रणमा लिएको हो । चीनबाट ल्याइएको इलेक्ट्रिक चुरोटलाई काठमाडौं, बुटवलबाट नेपालगन्ज नाका हुँदै भारत लैजाने गरिएको अनुसन्धानमा खुलेको छ ।

यस प्रकरणमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ घर भएका डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि रोजन न्यौपाने र नेपालगन्जका सनाउल्लाह अन्सारीलाई पक्राउ गएिको छ ।

अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले पक्राउ गरिएकामाथि थप अनुशन्धान गरिएको र भेप काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज लैजाने र त्यहाँबाट भारततर्फ लैजाने गरेको देखिएको बताए ।

भारतमा महंगो मूल्यमा विक्री गर्ने भएकाले अहिले अन्य विभिन्न नाकाबाट नेपालगन्ज भेप पुर्याउने गरिएको खुलेको छ । गोप्य सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गको बुटवलमै उक्त ट्रकमाथि जाँच गर्दा २ सय पिसका दरले १३ वटा कार्टुनमा २६ वटा प्याक गरिएको अवस्थामा भेप बरामद भएको घिमिरेले जनाए ।

प्रारम्भिक अनुसन्धानबाट डायमन्ड नेपाल इन्टरनेसनलका कर्मचारी रोजन न्यौपाने र खरिद गर्नेमा नेपालगन्जको तसनीम जनरल स्टोर्स देखिएको छ । खरिद गर्ने स्टोर्सका तर्फबाट सनीउल्लाह अन्सारी पक्राउ परेका हन् । खरिद गर्ने फर्म भने उनको श्रीमतीको नाममा छ । उनीहरू दुई जना पक्राउपछि उनीहरूकै सूचनाको आधारमा मुस्ताङको कोरला नाकाबाट १९ हजार पिस र काठमाडौंबाट ८६ हजार पिस भेप पनि राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले पक्राउ गरिसकेको छ ।

काठमाडौंबाट पनि भेप बरामद हुनुले ठूलो परिणाममा चीनबाट भेप तस्करी भइरहेको देखिएको छ । अहिले पक्राउ परेका दुवै जनाबाट मुख्य तस्करको पनि खोजी भइरहेको कार्यालय प्रमुख घिमिरेले बताए । ‘अहिले पक्राउ परेका दुवैजना कर्मचारीको रूपमा प्रयोग भएका देखिन्छन्,’ घिमीरेले भने, ‘मुख्य व्यापारीको पनि खोजी जारी छ ।’

बुटवलबाट बरामद भएको २६ सय पिस भेपको ३१ लाख मूल्य कायम गरेर शतप्रतिशत जरिवानासहित ६२ लाख रुपैयाँ बिगो बमोजिम धरौटी माग गरिएको कार्यालयका अनुसन्धान अधिकृत राजबहादुर विष्टले बताए । बिष्टका अनुसार २६ सय पिस भेप ल्याउदा १ सय पिसकोमात्र बिल काटिएको छ । बरामद भएको बिल अनुसार खरिद मूल्य प्रतिपिस १ हजार ५० रुपैयाँ राखिएको छ ।