August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

भैरहवाको मल्लिक ट्रेडर्सको झेलः तकिया भनेर आयत, भित्र हाँसको पखेटा

Advertisement

भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै तकिया भनेर आयात गरिएको वस्तुमा आयातकर्ताले ढाटछली गरेको पाइएको छ । आयातकर्ताले घोषणा गरेभन्दा फरक वस्तु पाइएपछि भैरहवा भन्सार कार्यालयले सामान जफत गरी मूल्य बराबरको जरिवाना तिराएको छ ।

Advertisement

एक महिना अघि सिद्धार्थनगर–४ स्थित सुगरमिलको मल्लिक ट्रेडर्सले भारतको मेसर्स ए.एच ट्रेडर्सबाट पिलो तकिया भनेर सामान आयात गरेको थियो । भन्सार कार्यालयमा आएर पनि उक्त सामानलाई तकिया भनेर घोषणा गरेर जाँचपास गराइएको थियो । तर, भन्सार अधिकृतहरुलाई शंका लागेपछि उक्त सामान चेकजाँच गरे ।

चेकजाँचका क्रममा तकिया नभई कुनै पंक्षीको पखेटा जस्तो देखियो । ‘यसपछि हामीले भन्सार कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्यौ । परीक्षणका क्रममा पंक्षीको पखेटा भन्ने रिपोर्ट भयो’, भैरहवा भन्सारका प्रमुख रामप्रसाद रेग्मीले भने, ‘हाम्रो प्रयोगशालाले कुन पंक्षी भनेर छुट्याउन नसकेपछि हामीले स्याम्पल केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठायौं । त्यहाँबाट लोपउन्मुख लेकाली जीवजन्तु अन्तर्गत पर्ने हरियो टाउके हाँसको पखेटा भनेर पुष्टिसहितको रिपोर्ट आएको छ ।’

भन्सारको प्रयोगशालामा परीक्षणका क्रममा आयातकर्ता मल्लिक ट्रेडर्सले घोषणा गरे भन्दा फरक पाएपछि भन्सारले जरिवाना गरेको छ । ‘सामान जफत गरी उक्त टे«डर्सलाई सामान बराबरको जरिवाना तिराइसकेका छौं’, प्रमुख भन्सार अधिकृत रेग्मीले भने । उनका अनुसार ३७ वटा ठूला बोरामा ल्याइएको उक्त सामान १ लाख ५८ हजार मूल्यको रहेको आयातकर्ताले घोषणा गरेका थिए । ‘हामीले सोही मूल्य बराबर जरिवाना तोक्यौं । त्यसपछि मल्लिक ट्रेडर्सले उक्त जरिवाना तिरिसकेको छ’, उनले भने ।

भन्सार ऐनमा घोषणा गरिएको वस्तुभन्दा फरक भएमा सामान जफत गरी घोषणा गरिएको मूल्य बराबर जरिवाना गर्नसक्ने व्यवस्था छ । विधिविज्ञान प्रयोगशालाको रिपोर्टपछि भन्सारले उक्त सामानबारे थप बुझ्न र अनुसन्धानका लागि यही बुधबार डिभिजन वन कार्यालय पठाएको छ । ‘वनले आयातकर्ता र उक्त हाँसको पखेटाबारे थप अनुसन्धान गर्नेछ’, उनले भने, ‘अनुसन्धानमा थप केही पाइए वन ऐन अनुसार कारबाही अगाडि बढ्नेछ ।’