January 13, 2025, Monday
२०८१ माघ १

सेवाप्रवाहमा प्रविधिलाई पछ्याउँदै सिद्धार्थनगर

भैरहवा– सेवाग्राहीलाई सहज सेवा दिने उद्देश्यले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्रविधिलाई पछ्याउँदै गएको छ । यसले सेवाप्रवाह चुस्त बन्ने र सेवाग्राहीलाई पनि सहज हुने विश्वास गरिएको छ ।

Advertisement

पछिल्लोपटक नगरपालिकाले क्यूआर कोर्डमार्फत राजस्व भुक्तानी सुरु गरेको छ । यस्तै फोहोरमैला संकलन गर्ने ट्याक्टरहरुमा जीपीएस जडान गरी सवारी कहाँ छन् भन्ने पत्ता लगाउन सकिने ब्यबस्था मिलाएको छ ।

यसबाट फोहोरमैला संकलन गर्ने ट्याक्टरहरु कहाँ र कुन अवस्थामा छन् भन्ने पत्ता लगाउन सकिने छ । र, सोही अनुसार आफ्नो क्षेत्रमा रहेका ट्याक्टरको लोकेसन पत्ता लगाई फोहोर पठाउन सकिने छ । यसका लागि आफ्नो मोवाइलमा लुना जीपीएस डाउनलोड गरी सहजै सेवा लिन सकिने ब्यबस्था मिलाइएको छ ।

त्यस्तै राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीति अनुरुप क्यूआर कोर्डमार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाएको हो । नगरपालिकाको राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोर्डमार्फत भुक्तानी गर्न सकिनेछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउने आफ्नो प्रतिबद्धा अनुसार नविनतम प्रविधिलाई अधिकत प्रयोगमा ल्याउने कोशिश भैरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

उनले यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरुप क्यूआर कोर्ड मार्फत् राजस्व भुक्तानीको सुरुवात गरिएको जानकारी दिए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगद प्रवाहलाई सरल मितव्यापी, पारदर्शी तथा प्रभावकारी बनाएर वित्तीय जोखिम न्यूनिकरण गर्नका लागि र नगरपालिकाको नीति अनुरुप क्यूआर कोर्डमार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको बताए ।

नगरपालिको कार्यालय र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्ने रकम अनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार संकेत नम्बरको क्यूआर कोर्डमा सोझै रकम भुक्तानी गर्नका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।