April 22, 2025, Tuesday
२०८२ बैशाख ९

बुटवल–नारायणगढ सडकः म्याद थपेको थप्यै तर सडक विस्तार अधुरै

भैरहवा– सरकारले ६ वर्षमा तीन पटक म्याद थप गरे पनि नारायणगढ–बुटवल सडक खण्डको बिस्तार पूरा हुने छाँट छैन । झन पछिल्लो समय निर्माणकार्य ठप्प छ । उक्त खण्डमा सुखले यात्रा गर्ने विश्वासमा रहेका सर्वसाधरण सडक निर्माण रोकिएपछि निराश छन् ।

Advertisement

सरकारले सडक विस्तारका लागि तेस्रो पटक म्याद थप गरिसकेको छ । तर निर्माण प्रगति ५३ प्रतिशत कट्न सकेको छैन । यस वर्ष बर्खापछि पनि सडक विस्तार ठप्प छ । सरकारले निर्माण कार्यलाई तिव्रता दिन भूमिका खेलको देखिँदैन । उल्टै ठेक्का तोड्ने चेतावनी दिँदै, पछि हट्दै आएको छ  ।

०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । दोस्रो पटक आयोजनाले परामर्शदातामार्फत एनटीसी (नोटिस टु करेक्ट) नोटिस जारी गर्दै तोकिएको समयभित्र काम नसके ठेक्का तोड्ने चेतावनी दिएको छ ।

एनटीसीअनुसार २०२४ डिसेम्बरसम्म एक साइडको काम ७० प्रतिशत सकिसक्नुपर्ने र २०२५ को मार्चसम्म कम्तिमा एक साइडको पूरै काम सकेर यातायातका साधन चल्ने बनाउनुपर्नेछ । तोकिएको सर्तअनुसार काम नभए ठेक्का तोड्नुको विकल्प नहुने सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए ।

०७९ साउन २२ भित्र काम सक्ने गरी ०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । यसलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११३ किमि सडकमध्ये ७० किमि ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ । बीचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्नेछ । अहिलेसम्म दुई लेन सडक ८० र चार लेन सडक ४० किमि मात्र सडक कालोपत्र भएको छ ।

तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । अहिलेसम्म पेस्कीसहित साढे ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । तर, दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । सरकारले म्याद थप गर्दै जाने प्रवृत्तिको कारण ठेकेदारले नटेरेको कावासोतीमा स्थानीय घनश्याम कुँवर बताउँछन् । ‘ठेकेदारको अति लापरबाही भयो’, उनले भने, ‘यस्तै ढिला हुन्छ भने बरु ठेक्का रद्ध गरेर अर्को लगाउँदा फरक नहोला ।’

सरकारले ठेकेदारले भने अनुसार म्याद थप गर्दै आएको छ । जनताले सास्ती खेपिरहेका छन् । वर्षौसम्म अलपत्र पार्ने ठेकेदारलाई जरिवाना गराएर ठेक्का रद्द गर्नुपर्ने स्थानीयको माग छ । नारायणगढ–बुटवल सडक खण्डको पूर्वी र पश्चिम खण्डमा ६ वर्षमा ५३ प्रतिशत मात्र काम भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर शिव खनाल भन्छन्, ‘हामीले सम्झौता अनुसार काम गर्न र म्याद थप गर्दा राखिएको सर्त अनुसार काम नभएको भन्दै ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘तर पनि ठेकेदारले कामलाई तिव्रता दिन सकेन ।’

सबैभन्दा बढी सकस दाउन्ने खण्डको १५ किलोमिटर पार गर्न छ । मोटरसाइकल तथा साना सवारीलाई त झन् यो खण्डको यात्रा थप कठिन हुने गर्दछ । धुलोले अगाडिको सवारी नदेख्दा दिउँसो नै बत्ती बालेर हिँड्नुपर्ने अवस्था छ ।

वर्षाको कारण देखाउँदै रोकिएकोसडक खण्डको काम अझै सुरु भएको छैन । तेस्रो पटक थप भएको म्याद समेत चार भइसकेको छ । वर्षाको कारण रोकिएको काम असोज १ गतेबाट नै सुरु गर्ने भने पनि अहिलेसम्म सडक निमार्णमा कामदार फिल्डमा देखिएका छैनन् ।

समयमा नै काम नहुँदा यात्रुले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ भने सडक वरपरका स्थानीयमा धुलोको कारण श्वासप्रश्वास सम्बन्धी समस्या आउन थालेको छ । सडक विस्तारको क्रममा खनिएका खाडल नपुर्ने, वर्षौसम्म सडक मर्मत नगर्दा सवारी साधन संचालनमा नै असहज हुने गरेको छ ।

सरकारी निकायबाट पटक–पटक सडक निर्माण र मर्मतको लागि ताकेता गर्दा समेत ठेकेदारले टेरेको छैन । सम्झौता अनुसार काम नगर्ने ठेकेदारले सरकारलाई उल्टै रकम नभएको र मर्मतको काम समेत आफूहरुले तत्कालै गर्न नसकिने भन्दै आएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सडक निर्माणको काम गरिरहेको हो ।