कर सप्ताह सुरु, भैरहवामा निकालियो प्रभातफेरि


भैरहवा– रुपन्देही सदरमुकाम भैरहवामा ‘राष्ट्रिय कर दिवस–२०८१’ का अवसर प्रभातफेरि निकालिएको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यस वर्ष राष्ट्रिय कर दिवस–२०८१ मनाइँदैछ ।
दिवसका अवसरमा शनिबार भैरहवामा प्रभातफेरि निकालिएको हो । आन्तरिक राजस्व कार्यालय, भैरहवाको आयोजनामा निकालिएको प्रभातफेरिमा निजी क्षेत्रका विभिन्न संघसंस्था, सुरक्षा निकाय, निजामती कर्मचारी लगायतको सहभागिता थियो ।
राजस्व कार्यालय भैरहवाको प्रांगणबाट सुरु भएको प्रभातफेरि नयाँ सडक हुँदै देवकोटाचोक, बैंकरोड, मिलनचोक, नारायणपथ, बुद्धचोक हुँदै पुनः आन्तरिक राजस्व कार्यालयको प्रांगणमा पुगेर समापन भएको थियो ।
प्रभातफेरिमा सहभागीहरुले करसम्बन्धि विभिन्न जनचेतनामूलक नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सो अवसरमा बोल्दै आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कर सम्बन्धि समस्या करदाता शिक्षा र अन्तरक्रियाका माध्यमबाट समाधान गरिने बताए ।
उनले सम्पूर्णमा कर तिरौं, तिरौं भन्ने भावना जागृत गर्नका लागि राष्ट्रिय कर दिवस मनाइएको बताए । मंसिर १ देखि ७ गतेसम्म मनाइने राष्ट्रिय कर दिवस सप्ताह अन्तर्गत पहिलो दिन प्रभातफेरि कार्यक्रम गरिएको पोख्रेलले जानकारी दिए ।

प्रभातफेरिमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही), तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा व्यापार संघ, सिद्धार्थ होटल संघ नेपाल, देवदह व्यापार संघ, मदिरा व्यवसायी संघ, भैरहवा, सिद्धार्थ सञ्जाल रुपन्देही, नेपाल अडिटर्स एशोसियसन (अडान), रुपन्देही, कर सहयोगी श्रमिक संगठन, नेपाल रुपन्देही, आन्तरिक राजस्व कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।










प्रतिकृया दिनुहोस्