लामो समयको प्रतीक्षापछि सञ्चालनमा आयो दम्ती ‘सबस्टेसन’
प्युठान- लामो समयको प्रतीक्षापछि प्युठानको दम्तीमा निर्माण भएको विद्युत् सबस्टेसन बुधबारदेखि सञ्चालनमा आएको छ।नेपाल विद्युत् प्राधिकरणले करिब आठ वर्षअघि निर्माण थालेको उक्त सबस्टेसन हिजो कात्तिक १४ गतेदेखि बुधबारदेखि सञ्चालनमा आएको हो।
सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत जिल्लामा विद्युत् आपूर्ति गरिएको नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासले जानकारी दिएका छन्। उनका अनुसार यसबाट करिब ३२ हजार घरधुरी लाभान्वित हुनेछन्।
नेपाल विद्युत् प्राधिकरण र त्रिपुरेश्वर जय दुर्गे जेभीबीच ५ करोड ३६ लाख ६० हजार ६८२ रुपैयाँमा २०७४ जेठ १७ गते सबस्टेसन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो। सोही बमोजिम निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त सबस्टेसनले विद्युत् आपूर्तिमा सुधार हुने विश्वास गरिएको छ।
सांसद् सूर्यबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको एक समारोहकाबिच सबस्टेसन सञ्चालनमा ल्याइएको हो। जसमा प्युठान नगरपालिकाका प्रमुख विष्णु योगी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी रमा आचार्य, डिएसपी दिपेश बस्याललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् संचारकर्मी उपस्थिति रहेको थियो।
तिहारअघि नै सबस्टेसन संचालनमा ल्याउने पूर्वघोषणाबमोजिम सबस्टेशन संचालन गरिएको जनाउँदै आपूर्तिमा विस्तारमा थप सुधार हुने सांसद् थापाले जनाएका छन्।
प्युठानका कुल ९ वटा स्थानीय तहका ६४ वडामध्ये नौबहिनी गाउँपालिका- १ को स्याउलीबाङ र गौमुखी गाउँपालिका- ३ को खराबाहेक सबै स्थानमा विद्युत् पुगेको प्राधिकरणले जनाएको छ।
प्रतिकृया दिनुहोस्