February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

दाङको बाह्रकुने दहलाई पर्यटन सर्किटसँग जोड्ने योजना

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य दाङको प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने दह पुगेका छन् । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुगेका हुन् ।

Advertisement

स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरुसँग समेत मुख्यमन्त्री आचार्यले छलफल गरेका छन् । घोराही उपमहानगरपालिका–१३ मा बाह्रकुने दह छ । यो दहमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको भनाई छ । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुना दहको रुपमा छ । यो धार्मिक एवम् पवित्र स्थल पनि हो ।

यहाँ माघेसङ्क्रन्तिको दिन ठूलो मेला लाग्ने गर्दछ । मुख्यमन्त्री आचार्यसहित बाह्रकुने दह क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको अवलोकनको लागि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा, पूर्व स्वास्थ्य मन्त्री राजु खनाल लगायतको सहभागिता थियो ।

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ । त्यही संकल्प अन्तर्गत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्याउने र धेरै दिनको भ्रमण गराउने गरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ । दहलाई पर्यटन सर्किटसँग जोडिने योजना सरकारले अघि सारेको छ ।