July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

‘नीति–नियममा चलेका र समुदायमा आधारित सहकारीमा समस्या छैन’

Advertisement

बुटवल– सहकारीको नीति नियममा चलेका र समुदायमा आधारित सहकारीहरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सहकारीको नियम प्रकृया र मापदण्डमा नचलेका तथा समुदायभन्दा बाहिरका संचालक समितिमा रहेका ब्यक्तिबाट सहकारीको रकमको दुरुपयोग र अपचलन हुने गरेको पाइएको पनि उनीहरुले बताए ।

Advertisement

वक्ताहरुले सहकारीको सदस्य बन्दा हरेक कुरा बुझेर बन्नुपर्नेमा समेत जोड दिए । बुटवल–७ मा अवस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा पुष्प बहुउद्देश्यीय सहकारीका संस्थापक अध्यक्ष चरणदास तिमिल्सेनाले केही सहकारीको बदमासीले राम्रो काम गरिरहेका सहकारीमा समेत आशंका पैदा गरेको भन्दै समुदायमा आधारित सहकारीमा अहिलेसम्म समस्या नदेखिएको बताए ।

उनले तिमिल्सेनाले सहकारीमा स्रोत नखुलेका, भ्रष्टाचार गरेको रकम समेत राखेर बढी ब्याज लिने र सदस्यभन्दा बाहिरकालाई समेत ऋण प्रवाह गर्ने गर्ने प्रवृत्तिले समस्या उत्पन्न गरेको जनाए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुनाखर खनालले बुटवल उपमहानगर भित्र झण्डै दश सहकारीमा अपचलनको समस्या देखिएको बताउँदै ति सवै जिल्ला बाहिर, संघ र प्रदेशमा दर्ता भएका सहकारी भएको जनाए ।

उनले आफूले धेरै सहकारीको साधारण सभामा जाने अवसर जुटेको बताउँदै पुष्प सहकारीमा खराव कर्जा नभएको पाउँदा हर्षित भएको उल्लेख गरे । सहकारीले सदस्यहरुको हितमा काम गर्नुपर्ने उनको भनाई छ । संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले पुष्प सहकारीमा सदस्य र संचालक समितिको अथक प्रयासले अहिलेसम्म खराव कर्जा नरहेको बताए । अध्यक्ष पाण्डेले सहकारीले सवै सदस्यहरुको भावना बुझेर सहकारिको नियमभन्दा बाहिर गएर लगानी नगरिएको बताए ।

कार्यक्रममा इन्द्रेणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष माया गौतमले सहकारीमा ठुलो पुंजीमात्र भएर नहुने र सही तरीकाले नीति र बिधिमा चलाउनु पर्नेमा जोड दिए । पुष्प सहकारीको संचालन प्रकृयाबाट आफू प्रभावित भएको उनले बताए । आफ्नै सदस्यहरुले खराव नियत राखेर ऋण लैजादा ऋण असुलीमा समस्या हुनेगरेको उनको भनाई छ ।

सहकारीकी सचिव कल्पना थापाको सञ्चालन, उपाध्यक्ष युवराज अमगाईंको स्वागतमा भएको साधारणसभाले अध्यक्ष रामप्रसाद पाण्डेद्वारा प्रस्तुत बार्षिक प्रगति तथा नीति कार्यक्रम प्रतिबेदन र कोषाध्यक्ष चुडामणि पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनले तथा लेखा सदस्य सरस्वती ढकाल अर्यालद्वारा प्रस्तुत लेखा प्रतिवेदन पारित गरेको छ ।

सधारण सभाले संस्थाको पुनर्लिखित विनियम २०८१ र संस्थाको रणनीतिक योजना २०८१ लाई अनुमोदन गरेको छ । सहकारीमा हाल पुरुष ३८६ र ५३१ जना महिलासहित कुल ९१७ जना सेयर सदस्य छन् । पुष्प सहकारीको हाल शेयर पूँजी २ करोड ३८ लाख ९८ हजार ७०० रुपैयाँ छ भने कर्जा लगानी ९ करोड २१ लाख १३ हजार पुगेको छ । यस्तै, बचत ११ करोड ३१ लाख २४ हजार ३४६ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा १४ लाख ४५ हजार ५५३ खुद मुनाफा गर्न सफल भएको छ भने सहकारीको कुल पूँजी १५ करोडभन्दा बढी पुगेको छ ।