June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

सिद्धार्थनगरमा करोडौं खर्चेर बनाइएकोे कृषि भवन प्रयोगबिहीन

Advertisement

भैरहवा– सडक छेउमा छरिएर लाग्दै आएको हाटलाई एकीकृत गर्ने र नगरपालिकाको आन्तरिक आम्दानीलाई बृद्धि गर्ने भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दुई वटा सामुदायिक कृषि भवन बनाउन सुरु गर्यो । जसमध्ये ए ब्लक भवन निर्माण सकिएको छ । बी ब्लक निर्माणकै क्रममा छ । तर, ए ब्लकलाई भाडामा लगाएर छरिएर रहेका कृषिउपज एकै ठाउँबाट विक्री सुरु गर्ने नगरपालिकाको लक्ष्य भने पूरा हुन सकेको छैन । भवन व्यवस्थापनका लागि तीनपटकसम्म ठेक्का आह्वान हुँदासमेत कोही इच्छुक नदेखिए पछि करोडौंको संरचना अलपत्र छ ।

Advertisement

नगरपालिकाले वार्षिक १ करोड ३५ लाख रुपैयाँ भाडा उठाउने गरी ‘ए ब्लक’को सामुदायिक कृषि भवन भाडामा लगाउन तीनपटक ठेक्का आह्वान गरेको थियो । ठेक्का नलाग्दा ११ करोड १७ लाख रुपैयाँ खर्चिएर बनाएको कृषि भवन अलपत्र बनेको हो । ‘तीनपटक ठेक्का आह्वान गर्दा पनि ठेक्का नगएपछि अब के गर्ने भन्ने बारे योजना बनाइरहेका छौं’, प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भने, ‘अहिलेको आर्थिक मन्दीका कारण पनि कोही इच्छुक देखिएनन् भन्ने निचोड हो । केही समयमै कसरी अगाडि बढ्ने भन्ने निचोडमा पुग्छौं ।’

उनले अब आफै संचालन गर्ने की भाडादरमा पुनरालोकन गर्ने भन्ने बारे छलफल भइरहेका सुनाए । वडा नम्बर पाँचमा निर्माण गरिएको ए ब्लक भवन अण्डर ग्राउण्ड पार्किङसहित पाँच तल्लाको छ । भवनमा एकपटकमा १४ जना अट्न सक्ने लिफ्ट जडान गरिएको छ । यस्तै, २७ वटा चारपाँग्रे कार र ५० वटा मोटरसाइकल अट्ने अन्डर ग्राउण्ड पार्किङ बनाइएको छ । भूकम्पप्रतिरोधी भवनमा आपतकालीन द्वार समेत राखिएको छ ।

५७ वटा सटर रहेको उक्त भवनमा कृषि थोक सामानलाई विशेष प्राथमिकता दिएर राखिने योजना हो । अत्याधुनिक डिजाइन र प्रविधिको प्रयोग गरेर बनाइएको भनिएको कृषि बहुउद्देश्यीय भवन संचालनका लागि कोही पनि इच्छुक नदेखिएपछि कसरी संचालन गर्नेभन्नेबारे नगरपालिका अझै निचोडमा पुगेको छैन । नगर प्रमुख इश्तियाक अहमद खाँले सुरुमा भवन बनाउँदा शौचालय, खानेपानी जस्ता विषयहरुलाई बेवास्ता गरिँदा संचालनमा केही समस्या भएको बताए ।

‘सुरुमा शौचालय कहाँ बनाउने ? भन्नेबारे ठाउँ व्यवस्थापन गरेको पाइएन । खानेपानीको पनि समस्या छ’, उनले भने, ‘यही कारण पनि तीनपटक ठेक्का लगाउँदा समेत कोही इच्छुक नदेखिएका हुन् की भन्ने हो । हामीले चाँडै त्यहाँ यी पूर्वाधार बनाउँछौं ।’ यसपछि ठेक्का नगएका कसरी अगाडि बढ्ने भन्नेबारे सबैको सुझाव लिएर अघि बढ्ने उनले बताए ।

अहिले भवन बनेको ठाउँमा यसअघि हप्तामा दुई दिन हाटबजार लाग्ने गथ्र्यो । त्यहाँ भवन बनेपछि छेउछाउको सडकमै अहिले आइतबार र बिहीबार हाटबजार हाल्छ । उक्त बजारलाई व्यवस्थित गरी सुविधा सम्पन्न भवनबाट सम्पूर्ण सामान उपलब्ध गराउने योजना नगरपालिकाको हो । यसले व्यापारी, किसान र उपभोक्ता सबैलाई सहज हुने विश्वास थियो । तर, नगरपालिकाको योजना ठेक्का नलाग्दा तत्काल पूरा हुने देखिँदैन ।

नगरपालिकाका महाशाखा प्रमुख इन्जिनियर साकार श्रेष्ठले नगरपालिकाले जसरी पनि भवन संचालनमा ल्याउने गरी योजना बनाएर काम गरिरहेको जनाए । ‘केही कुराहरुको अभाव छ’, उनले भने, ‘ती पूरा गर्छौं । चालु आर्थिक वर्षमै भवन संचालनमा ल्याउँछौं ।’ स्थानीय करोडौंको संरचना बनाएर नगरपालिकाले अलपत्र छाडेको भन्दै आलोचना गरिरहेका छन् ।