गौतमबुद्ध विमानस्थलः कुन–कुन एयरलाइन्सले कहिलेदेखि गर्दैछन् अन्तर्राष्ट्रिय उडान ?


भैरहवा– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशसँगै समग्र मुलुककै आर्थिक तथा पर्यटकीय गतिविधि बढाउन सक्ने लाइफलाइन भएको व्यवसायी बताउँछन् । यही कारण विमानस्थल विजनेशबिहीन भएको, नियमित एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै यसलाई पूर्णक्षमतामा संचालन गर्न निजी क्षेत्रबाट निरन्तर दवाव सिर्जना हुँदै आएको छ । व्यवसायीको निरन्तरको दवावले पछिल्लोपटक सरकारको पहलमा यहाँबाट केही विमान कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडान भर्न कार्ययोजना सार्वजनिक गरेका छन् । यसका लागि एयरलाइन्सहरुले टिकट बुकिङ खुलाइसकेका छन् ।
धेरैलाई थाहा नहुन सक्छ, भैरहवाबाट कहिले, कुन–कुन एयरलाइन्सले नियमित उडान गर्दैछन् ? यसबारे हामीले यहाँ विस्तृत चर्चा गर्ने प्रयास गरेका छौं । यही कार्तिक महिनादेखि भैरहवाबाट दुई विदेशी हवाई कम्पनीले उडान सुरु गर्ने भएका छन् । कुवेतबाट उडान भर्ने जजिरा एयरलाइन्स र संयुक्त अरब इमिरेट्स (युएई) बाट उडान भर्ने फ्लाई दुबईले गौतमबुद्ध विमानस्थलबाट यही महिनादेखि नियमित उडान गर्ने भएका हुन् ।
जजिरा एयरलाइन्सले कुवेतबाट सिधा भैरहवा उडान भर्नेछ । कुवेतबाट आउने जजिराले १२ कार्तिकदेखि सातामा तीन उडान गर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा अवतरण गर्ने वायुयानलाई काठमाडौं विमानस्थलबाट पनि उडान भर्न पाउने सुविधा दिएको छ । कुवेतबाट आएको जजिरा मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट साढे ८ बजे कुवेत फर्कने गरी सातामा ३ उडान भर्ने अनुमति पाएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए ।
यस्तै, अर्को विदेशी कम्पनी फ्लाई दुबईले पनि यही कार्तिकको २४ गतेबाट दुबई–भैरहवा–काठमाडौं–दुबई उडान भर्नेछ । तिवारीका अनुसार दुवईबाट आएको फ्लाई दुबई दिउँसो १ः४५ मा भैरहवा विमानस्थलमा अवतरण गर्नेछ । त्यसपछि भैरहवाबाट २ः४५ मा उडेर काठमाडौं विमानस्थलमा ३ः३० मा पुग्नेछ । यहाँबाट यो विमान साढे ४ बजे दुबईका लागि उड्नेछ । ‘यो जहाजले दुबई–भैरहवा–काठमाडौं–दुबई गन्तव्यमा दैनिक एक उडान गर्नेछ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘यसरी उडान भर्नका लागि अन्य वायुयान कम्पनीलाई पनि प्राधिकरणले आग्रह गरेको छ । अरु कम्पनीहरु छलफलका क्रममा छन् ।’
दुई वायुसेवा कम्पनीले भैरहवाबाट उडान भर्नको लागि सबै आवश्यक तयारी पूरा गरी वायुसेवाले टिकेटिङ समेत गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका महाप्रबन्धक तिवारीले बताए । उनले भने, ‘अन्य वायुसेवा कम्पनीले पनि चासो देखाएका छन् । अहिले भने जजिरा र फ्लाई दुबईले उडान भर्ने तय भएको छ ।’
थाई एयर एसियाले १६ असोजबाट काठमाडौंमा नियमित उडान सुरु गरेको छ । प्राधिकरणले यो कम्पनीलाई काठमाडौंबाट ४ र भैरहवाबाट ४ गरी सातामा ८ वटा उडान भर्ने अनुमति दिएको छ । तर, यो वायुयान कम्पनीले काठमाडौंबाट उडान सुरु गरे पनि भैरहवाबाट गर्न सकेको छैन ।
गएको असोज १७ मा थाई एयर एसियाको टोलीले भैरहवा विमानस्थल अवलोकन गरेको थियो । टोलीको रिपोर्टपछि यो कम्पनीले ११ कार्तिकभित्रमा भैरहवा उडान गर्ने तालिका पेश गर्ने भनेको छ । तर, हालसम्म उडान अनुमतिका लागि प्रस्ताव बुझाएको छैन । उनले भने, ‘थाई एयर एसियाको प्रस्तावको प्रतीक्षामा छौं । प्रस्ताव प्राप्त भएपछि कुन–कुन दिन उडान हुने तय हुनेछ ।’
हिमालय एयरलाईन्सलाई पनि उडान भर्नका लागि ताकेता गर्दै आएको उनले बताए । एयर अरेबियाले पनि भैरहवाबाट उडान गर्न आन्तरिक तयारी गरिरहेको छ । यो वायुसेवाले प्राधिकरणसमक्ष उडान तालिका पेश भने गरिसकेको छैन ।
देशको एकमात्र पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यही कार्तिक २३ बाट स्तरोन्नति गर्ने काम सुरु हुँदैछ । यो काम गर्दा विमानस्थल दैनिक १० घण्टा बन्द गर्नुपर्ने हुन्छ । यही कारण प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलबाट उडान सुरु गर्न स्वदेशी–विदेशी वायुसेवा कम्पनीलाई आग्रह गर्दै आएको छ । नेपाल वायुसेवा निगमले भैरहवा विमानस्थलमा हरेक मंगलबार उडान गर्दै आएको छ । यो विमान मंगलबार काठमाडौंबाट मलेसिया जान्छ ।
उक्त जहाज मलेसियाबाट भैरहवा हुँदै काठमाडौं अवतरण गर्ने गरेको छ । तर, केही दिनयता भने निगमका विमानमा समस्या आएकाले उडान भर्न सकेको छैन । भैरहवा विमानस्थलमा पनि उडान तथा अवतरण होस् र विस्तारै काठमाडौंको हवाई चाप कम गर्न सकियोस् भन्ने सोचका साथ प्राधिकरणले कम्पनीहरुलाई अनुरोध गर्दै आएको हो ।
भैरहवा विमानस्थलमा पनि व्यावसायिक उडान भएर वायुसेवा कम्पनीलाई पनि मर्का नपरोस् भनेर अनुरोध गरिएको सूचना अधिकारी भूलले बताए । उनले भने, ‘यसबारेमा नेपालमा उडान भर्ने वायुसेवा कम्पनी छलफलकै क्रममा छन् । एटफ्रिडम अर्थात् आठौं ट्राफिक स्वतन्त्रता सहित उडान गर्ने हो ।’
एक देशको वायुसेवा कम्पनीको विमान अर्को देशको विमानस्थलमा अवतरण गरेर सोही देशको अर्को विमानस्थलमा कार्गो तथा यात्रुसहित उडान–अवतरण भर्नुलाई उड्डयन क्षेत्रमा एटफ्रिडम भनिन्छ । ७३ वर्षपछि नेपालमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको थियो । योसँगै भैरहवावाट तेस्रो देशसँग सिधा हवाई उडानको सञ्जाल विस्तार भएको भए पनि त्यहाँबाट तेस्रो देशमा नियमित उडान हुन सकेको छैन ।








प्रतिकृया दिनुहोस्